पोखरा । पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण सार्वजनिक भएको छ। दाबी–विरोध तथा आवश्यक छानबिनपछि बसपार्क क्षेत्रमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको संख्या ५६७ कायम भएको हो।

प्रारम्भिक विवरणमा भूमिहीन दलित २००, भूमिहीन सुकुम्बासी २४८ र अव्यवस्थित बसोबासी ११६ गरी ५६४ जनाको विवरण प्राप्त भएको थियो। वडाबाट प्रकाशित सूचनाअनुसार दाबी–विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि छानबिन र परीक्षण गरेपछि अन्तिम संख्या परिवर्तन भएको हो।
अन्तिम विवरणअनुसार भूमिहीन दलित १४४, भूमिहीन सुकुम्बासी १८१ र अव्यवस्थित बसोबासी २४२ जना कायम भएका छन्। यसमध्ये भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी ३२५ परिवार भूमिहीन रहेको जनाइएको छ।
वडा तहको सहजीकरण समितिले दाबी–विरोध तथा छानबिनपछि तयार पारेको विवरण वडा समितिसमक्ष सिफारिस गरेको थियो। वडा समितिको बैठकले उक्त प्रतिवेदन नियमानुसार ग्रहण गरी आवश्यक सिफारिससहित महानगरपालिकामा पठाउने निर्णय गरेको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार अब महानगरपालिकाको कार्यपालिकाले प्रतिवेदनमाथि आवश्यक छलफल गरी यसै साता जिल्ला समितिमा सिफारिस गर्नेछ।
प्रमुख आचार्यले जिल्ला समितिमा सिफारिस प्रक्रिया अघि बढेसँगै अर्को सातादेखि बसपार्क क्षेत्रबाट सुकुम्बासी बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइने जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्।
बसपार्क क्षेत्रको व्यवस्थापन तथा पूर्वाधार विकासका लागि लामो समयदेखि सुकुम्बासी बस्ती स्थानान्तरणको विषय उठ्दै आएको थियो। अब अन्तिम विवरण र जिल्ला समितिको प्रक्रियापछि स्थानान्तरणको काम अघि बढ्ने भएको हो।