बाढीको विपत्तिबीच मानव बेचबिखनविरुद्धको दिवस सन्देश प्रकाशन गरेर मनाइने

पोखरा । देश बाढीको महाविपत्तिबाट आक्रान्त भइरहेका बेला यस वर्षको मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस औपचारिक कार्यक्रम नगरी जनचेतनामूलक सन्देश प्रकाशन गरेर मनाइने भएको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति, पोखरा महानगरपालिकाको बैठकले बाढीका कारण सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै औपचारिक कार्यक्रम नगर्ने र मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतनामूलक सन्देश तथा सूचना प्रकाशन गरी दिवस मनाउने निर्णय गरेको हो।

 

समितिका संयोजक एवं पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले देश बाढीको महाविपत्तिबाट आक्रान्त रहेका बेला औपचारिक कार्यक्रमभन्दा जनचेतनामूलक सन्देशमार्फत मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना फैलाउने निर्णय गरिएको जानकारी दिइन्।

 

उनका अनुसार विपद्को समयमा मानव बेचबिखन तथा ओसारपसारको जोखिम सामान्य अवस्थाभन्दा बढ्न सक्छ। विशेषगरी महिला तथा किशोरी, बालबालिका, अभिभावकबाट छुट्टिएका वा हराएका बालबालिका, एकल महिला तथा एकल अभिभावकका बालबालिका, विस्थापित तथा घरबारविहीन परिवार र आर्थिक संकटमा परेका व्यक्तिहरू बढी जोखिममा पर्न सक्छन्।

 

त्यस्तै, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत तथा सामाजिक रूपमा कमजोर समुदाय, कागजात वा पहिचान गुमाएका व्यक्ति तथा राहत, रोजगारी वा विदेश पठाउने प्रलोभनमा पर्न सक्ने व्यक्तिहरूलाई समेत मानव बेचबिखन तथा ओसारपसारको जोखिम रहन सक्ने समितिले जनाएको छ।

 

विपद्को समयमा उद्धारसँगै जोखिममा रहेका व्यक्ति तथा समुदायको संरक्षणमा समेत विशेष ध्यान दिनुपर्नेमा समितिले जोड दिएको छ। बाढी तथा अन्य विपद्को फाइदा उठाउँदै विभिन्न प्रलोभन, बहाना वा झुटा आश्वासनमार्फत मानव बेचबिखन तथा ओसारपसार हुन सक्ने भएकाले परिवार, समुदाय र सम्बन्धित निकायलाई सतर्क रहन समितिले आग्रह गरेको छ।

 

‘विपद्को समयमा उद्धारसँगै संरक्षणमा लागौँ’ भन्ने सन्देशसहित मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सूचना तथा सन्देश प्रकाशन गरिने समितिले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...