शाेभाले रचिन इतिहास, पोखरा उद्योग वाणिज्य संघकाे अध्यक्षमा निर्वाचित

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ७० वर्षे इतिहासमा पहिलोपटक महिला नेतृत्वमा पुगेकी छन् । संघको ३६औँ अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी हुन् ।


गौतमले ७ सय ५१ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी हुँदा उनका प्रतिस्पर्धी अर्जुन पोखरेलले ६ सय ३७, उत्तममान बुद्धाचार्यले ६ सय १ र बलराम आचार्यले २ सय ३५ मत प्राप्त गरे ।
गौतमले तीन पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै संघको नेतृत्वमा ऐतिहासिक सफलता हात पारेकी हुन् । यसअघि विन्दु कोइराला र हीरा भट्टराईले अध्यक्ष पदमा उम्मेदवारी दिए पनि सफल हुन सकेका थिएनन् ।

संघको वर्तमान महासचिवसमेत रहेकी गौतमले कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिवको जिम्मेवारी सम्हालिसकेकी छन् । उनले आफ्नो विजयलाई आफू मात्रको नभई संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाजका रूपमा लिएकी छन् ।
‘मेरो परिचय केवल एउटा उम्मेदवारका रूपमा मात्र नभई हजारौँ संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाज हो,’ उनले निर्वाचनअघि भनेकी थिइन् ।

गौतमको व्यावसायिक यात्रा करिब २६ वर्षअघि संघको कार्यालय अगाडि सञ्चालन गरेको सानो चिया पसलबाट सुरु भएको थियो । त्यसपछि उनले महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ सञ्चालन गर्दै व्यवसाय विस्तार गरिन् । हाल उनी सुप्रिम सप्लायर्समार्फत लुब्रिकेन्ट, फेसन, इभेन्ट, रेस्टुरेन्ट, कृषि तथा ग्रोसरीलगायत विभिन्न व्यवसायमा सक्रिय छन् ।

गौतम २०७३ सालमा संघको साधारण सदस्यका रूपमा उद्योग वाणिज्य संघको अभियानमा जोडिएकी थिइन् । तत्कालीन अध्यक्ष पवनकुमार प्रजापतिको प्रेरणाबाट संघमा प्रवेश गरेकी उनले त्यसपछि विभिन्न जिम्मेवारी सम्हाल्दै नेतृत्व तहमा पुगेकी हुन् । उनी मानव सेवा आश्रम, लायन्स क्लब लगायतका सामाजिक संस्थामा समेत सक्रिय छिन् ।

१४ बुँदे प्रतिबद्धता

गौतमले यसपटकको निर्वाचनमा ‘सुदृढ संघ, सक्षम नेतृत्व’ भन्ने नारासहित १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी थिइन् । संघलाई सबै उद्योगी–व्यवसायीको साझा घरका रूपमा विकास गर्ने उनको प्रमुख लक्ष्य छ ।

कृषि तथा पर्यटन प्रवर्द्धन, युवा उद्यमशीलताको विकास, महिला उद्यमीको सशक्तीकरण, वित्तीय साक्षरता र सीप विकासलाई उनले प्राथमिकतामा राखेकी छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि पहल गर्ने तथा न्युरोडको पार्किङ समस्या समाधान गर्ने योजना पनि उनले अघि सारेकी छन् ।

त्यस्तै ‘मेड इन पोखरा’ अभियानलाई विस्तार गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र व्यवसायीमैत्री नीति निर्माणका लागि सरकारसँग पैरवी गर्ने उनको प्रतिबद्धता छ ।
यसअघि उनले जीआईजेडको वित्तीय साक्षरता कार्यक्रम तथा छेन्दु–पोखरा उडान समन्वयको जिम्मेवारीसमेत सम्हालिसकेकी छन् ।

अन्य पदमा को–को निर्वाचित ?

संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला १ हजार ४ सय ८१ मत प्राप्त गर्दै निर्वाचित भए । उनका प्रतिस्पर्धी टीकाराम सुवेदीले ७ सय ६० मत पाए ।

महासचिवमा सुदीप प्रधानाङ्ग १ हजार २ सय २ मतसहित निर्वाचित भए । तारानाथ ढुंगानाले १ हजार ४२ मत प्राप्त गरे ।
उद्योगतर्फको उपाध्यक्षमा सौगात थापा १ हजार २ सय ७१ मतसहित विजयी हुँदा ललितबहादुर कुँवरले ९ सय ७३ मत पाए ।
वाणिज्यतर्फको उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ १ हजार ६५ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी भीम गौतमले ९ सय १९ मत प्राप्त गरे

कोषाध्यक्षमा देवेन्द्र प्रजु १ हजार ४ सय ३९ मतसहित विजयी भए । जीवनप्रकाश श्रेष्ठले ७ सय ७७ मत पाए ।

उपमहासचिवमा प्रदीप राजभण्डारी १ हजार १ सय ५३ मतसहित निर्वाचित भए । यादवप्रसाद पोखरेलले ६ सय ५८ र रामचन्द्र तिमिल्सिनाले ४ सय ३३ मत प्राप्त गरे ।

खुला सदस्यमा १० जना निर्वाचित

खुला सदस्यतर्फ १० पदका लागि १३ जनाबीच प्रतिस्पर्धा भएको थियो । सर्वाधिक मत प्राप्त गर्ने दुर्गा बराल १ हजार ७ सय ४८ मतसहित निर्वाचित भए ।

त्यस्तै अमृत पोखरेलले १ हजार ७ सय ३१, निर्मला चापागाईंले १ हजार ५ सय ८०, गोविन्दबहादुर केसीले १ हजार ४ सय ८७, रामेश्वर अधिकारीले १ हजार ४ सय ७७, मनोहरी पौडेलले १ हजार ४ सय ७६, भानुभक्त अधिकारीले १ हजार ४ सय ७६, दिलीपकुमार श्रेष्ठले १ हजार ४ सय ४७, रामप्रसाद कँडेलले १ हजार ४ सय ३५ र कमलबहादुर सुनारले १ हजार ४ सय २४ मत प्राप्त गर्दै निर्वाचित भए ।

उम्मेदवारमध्ये नवीन नापितले १ हजार ३ सय ४३, हरिप्रसाद अधिकारीले १ हजार ३ सय ४३ र सूर्यराज घिमिरेले १ हजार ३ सय ३ मत प्राप्त गरे ।

शोभा गौतमको नेतृत्वसँगै पोखरा उद्योग वाणिज्य संघले पहिलोपटक महिला अध्यक्ष पाएको छ । यसलाई पोखराको उद्योग–व्यवसाय क्षेत्रसँगै महिला उद्यमशीलताको नेतृत्वमा समेत महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...