रसुवा बाढीपहिरो राहतका लागि भायानेटद्वारा २० लाख सहयोग

काठमाडौं, २३ भदौ । रसुवामा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।


विपद्को कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग प्रदान गरिएको भायानेटले जनाएको छ। विपद्का समयमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको कम्पनीले जनाएको छ।

 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको उक्त सहयोगबाट रसुवा बाढीपहिरो प्रभावित नागरिकका लागि सरकारले सञ्चालन गरिरहेका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

भायानेटले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै प्रभावित सम्पूर्ण व्यक्ति तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ।

 

कम्पनीले विपद्को समयमा उद्धार, राहत तथा सहयोगका कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा मानवीय सहायता र राहत कार्यमा संलग्न व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ।

 

विपद्को यस घडीमा प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत भायानेटले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...