काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विजयादशमीको शुभकामना दिँदै भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन्।

विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न आवश्यक रहेको बताएका हुन्।
प्रधानमन्त्री शाहले विजयादशमी असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा मनाइने पर्व भएको उल्लेख गरेका छन्। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुरजस्ता आसुरी शक्तिमाथि विजय प्राप्त गरेको र भगवान् रामले असत्यका प्रतीक रावणको अन्त्य गरेको विश्वास रहेको उनले उल्लेख गरेका छन्।
विजयादशमीका दिन मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले दुर्गा भवानीले विजय प्राप्त गरेजस्तै हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकियोस् भन्ने कामना गरिने बताएका छन्। टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेट्न जाने परम्पराले पारिवारिक आत्मीयता र सम्बन्धलाई थप बलियो बनाउने उनको भनाइ छ।
उनले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताएका छन्। समाजमा रहेका विकृति र विसङ्गति हटाउँदै प्रत्येक नागरिकलाई सरकार आफ्ना लागि पनि छ भन्ने अनुभूति गराउन सबैको सामूहिक प्रयास आवश्यक रहेको उनको सन्देश छ।
इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट मात्र भ्रष्टाचार, कुशासन र विभेदजस्ता समस्या हटाउन सकिने उल्लेख गर्दै उनले परिवर्तनका लागि सोच र व्यवहार दुवैमा सुधार ल्याउनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री शाहले विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने बताएका छन्। वर्षौँदेखि टाढिएका साथीभाइ तथा आफन्तजनसँग भेटघाट गरी आत्मीयता साटासाट गर्ने अवसरका रूपमा पनि यस पर्वको महत्त्व रहेको उनले उल्लेख गरेका छन्।
अन्त्यमा उनले सबैलाई आआफ्नो स्थान र क्षमताअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आग्रह गरेका छन्।
