पात्ले युवा क्लबको चौथो साधारण सभा सम्पन्न

पोखरा, कास्की। पात्ले युवा क्लबको चौथो साधारण सभा तथा बडादशैँ, शुभ दीपावली, नेपाल संवत्, छठ र ईदलगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न भएको छ।


पोखरा महानगरपालिका–१९ का जनप्रतिनिधि विकासकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष विष्णुप्रसाद गौतम ‘कमल’ले गर्नुभएको थियो।
कार्यक्रममा अध्यक्ष गौतमले क्लबको एक वर्षको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, कोषाध्यक्ष अस्मिता गौतमले क्लबको आर्थिक अवस्था तथा आर्थिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।


कार्यक्रममा नेकपा एमालेका युवा नेता एवं क्लबका सल्लाहकार विकास गौतम, नेपाली कांग्रेस पोखरा–१९ का सभापति एवं क्लबका सल्लाहकार विष्णुप्रसाद बास्तोला तथा नेकपा एमाले पोखरा महानगर कमिटीका उपसचिव विष्णुप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले युवा क्लबले सामाजिक एकता, आपसी सद्भाव, भाइचारा र सामुदायिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँहरूले विभिन्न चाडपर्वका अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आपसी सम्बन्ध र सामाजिक सद्भावलाई थप बलियो बनाउने धारणा व्यक्त गर्नुभयो

 

स्थानीय युवालाई सामाजिक कार्यमा सक्रिय बनाउने, आपसी सम्बन्ध सुदृढ गर्ने तथा विभिन्न जातजाति, समुदाय र संस्कृतिबीच सद्भाव कायम राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।कार्यक्रमको सञ्चालन क्लबका सचिव श्रीकुमार गौतमले गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा क्लबले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा बडादशैँ, शुभ दीपावली, नेपाल संवत्, छठ र ईदलगायतका पर्वका अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...