काठमाडौँ, जेठ ९ गते । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा मुलुक नै केन्द्रित छ । प्राप्त विवरणमा आजसम्म ७५ जिल्लाले निषेधाज्ञा जारी गरी अत्यावश्यक बाहेकका गतिविधि रोक्दै सङ्क्रमण तोड्ने प्रयास गरिरहेका छन् । त्यसबाट केही सकारात्मक परिणाम देखिए पनि अझै सङ्क्रमणदर नियन्त्रणमा आशातित उपलब्धि हुन सकिरहेको छैन ।

अहिले पनि दैनिक झण्डै आठ हजारको हाराहारीमा सङ्क्रमित फेला परिरहेका छन् । निको हुने दरमा केही वृद्धि भइरहे पनि मृत्युदर अझै घट्न सकिरहेको छैन । मुलुकमा दैनिक १५० भन्दा माथि नै मानिसको ज्यान गइरहेको छ ।
कोरोनाको दोस्रो लहरको फैलँदो क्रमसँगै त्यसलाई नियन्त्रणका लागि निषेधको आदेश जारी गर्ने क्रम शुरु भएको एक महिना नाघ्यो । मुलुकका ७७ मध्ये दुई जिल्लाले अझै आदेश जारी नगरी नियन्त्रणको प्रयास गरिरहेका छन् । आदेश जारी नगरी नियन्त्रणको काम गरिरहेको जिल्ला तेह्रथुमले पनि शनिबार बिहानदेखि यही जेठ १४ गते राति १२ बजेसम्मका लागि जिल्लाभर नै निषेधाज्ञा लगाइसकेको छ ।
अब आदेश जारी नगर्ने जिल्लामा ‘खोटाङ र मनाङ’ छन् । ति जिल्लाले पनि सङ्क्रमण नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । उक्त जिल्लाका अधिकारीहरूले स्वअनुशासन र स्वआइसोलेशनलाई जोड दिएर नियन्त्रणको प्रयास जारी राखेको जनाएका छन् । दोस्रो लहरको कोरोनासँग वैशाख ७ गते बाग्लुङबाट निषेधको आदेश जारी गर्न शुरु गरिएको थियो । वैशाख १६ गतेपछि यसरी आदेश जारी गर्ने क्रम बढेको थियो ।
खोटाङको यस्तो छ नियन्त्रण प्रयास
जिल्ला प्रशासन कार्यालय खोटाङले वैशाख ९ गते सूचना जारी गरेपछि अहिलेसम्म कोभिडसम्बन्धिका सूचना भने सार्वजनिक गरेको छैन । उक्त सूचनामा सरकारले दिएको निर्देशन पालना गर्दै भिडभाड हुन नदिने र आवश्यक स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न भनिएको छ ।
खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा स्वअनुशासनलाई कडाइका साथ लागू गरिरहेको बताउनुहुन्छ । “निषेधाज्ञा जारी गर्नुभन्दा स्वनियमन र अनुशासन नै बढी प्रभावकारी देखियो, त्यसैले सबै स्थानीय तह सुरक्षा निकाय तथा सङ्घसंस्थाको समन्वयमा रोकावटको काम भइरहेको छ”, प्रजिअ शर्माले रासससँगको कुराकानीमा भन्नुभयो । उहाँले परिस्थिति हेरेर अगाडिका कदम चाल्दै जाने समेत जानकारी दिनुभयो । खोटाङमा हालसम्म ३३२ सङ्क्रमित पुगेका छन् । त्यसमध्ये २४ निको भएर घर फर्किए भने अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । हाल अस्पतालमा २१ जना मात्रै उपचारमा रहेको र अरु सबै होम आइसोलेशनमा छन् ।
आदेश जारी नगरे पनि कडा नियम लगाएर परिपालनमा जोड दिइएको छ । “दुई हप्तादेखि नै मठमन्दिर, पूजापाठ, भिडभाड हुने क्षेत्र हामीले सबै रोकेका छौँ, पसल ७/९ मात्रै खोल्न दिइएको छ, यातायात बन्द नै छ, अनुमतिमा मात्रै हिँडडुल तथा यातायात चल्छन्”, शर्माले थप्नुभयो, “हामीले निषेधाज्ञ भने जारी गरेका छैनौँ ।” उहाँको भनाइलाई आधार मान्दा निषेधाज्ञा घोषणा नगरिए पनि प्रकृति भने उस्तैउस्तै देखिन्छ ।
खोटाङमा कोभिडका बिरामी राख्न मिल्ने २२६ शय्या रहेको छ । अक्सिजन ८८ वटा तयारी अवस्थामा राखिएको छ । दश स्थानीय तहसहित जिल्ला अस्पतालमा गरेर त्यहाँ ११ आइसोलेशन सेन्टर स्थापना गरिएको तर जिल्लामा भने एउटा मात्रै भेन्टिलेटर रहँदा ममस्या हुने हो की भन्ने आशङ्का छ ।
मनाङ् के गर्दै छ?
अर्काे निषेधाज्ञा जारी नगर्ने मनाङले पनि स्वअनुशासन र स्वआइसोलेशनलाई जोड दिँदै नियन्त्रण प्रयास जारी राखेको छ । यहाँका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने भन्नुहुन्छ, “निशेषाज्ञा जारी गर्नु मात्रै ठूलो कुरा होइन, व्यवस्थापन महत्वपूर्ण रहेछ, ओहोरदोहोर, पर्यटक आवागमन रोक्ने काम भएको छ, स्वअनुशासन र स्वआइसोलेशनलाई हामीले जोड दिएका छौँ ।” उसले ‘स्वआइसोलेशनमा बसौँ, कोभिडविरुद्ध संयुक्त लडाईं लडौँ’ भन्ने नारा नै तय गरेर अभियान चलाएको छ ।
प्रजिअ लामिछानेका अनुसार जिल्लामा हालसम्म कुल ६३ जना सङ्क्रमित फेला परेका छन् । त्यसमध्य १४ जना निको भएर फर्किसकेका छन् । अहिलेसम्म मानवीय क्षति भएको छैन । यहाँका चार गाउँपालिकाको चार कोभिड अस्पतालमा ४७ शय्या छ । कूल अक्सिजन सिलिण्डर २९ वटा रहेको उहाँले जानकारी दिनुभयो । अहिले गाउँगाउँमा परीक्षणको दायर बढाउँदै सङ्क्रमितको खोजी भइरहेको लामिछानेले बताउनुभयो । अक्सिजन प्लान्टका लागि रकम आएको र त्यसका लागि सामानहरु खरिद प्रक्रिया शुरु भएको जनाइएको छ ।