काठमाडौँ, साउन १ गते ।लुतो फाल्ने पर्व साउने सङ्क्रान्ति शुक्रबार मनाइँदैछ ।सौर्यमान्अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले शुक्रबारको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।
यसैदिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मादि रोगबाट जोगिन लुतो फाल्ने प्रचलनस्वरुप यो पर्व मनाउन थालिएको हो ।
प्राचीन प्रचलनअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधीय बनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।
पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो ˆयाक्ने संस्कृृति मनाउने गरिएको छ । कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरजस्ता केही धार्मिक तीर्थस्थलमा सामाजिक रुपमा लुतो फाल्ने प्रचलन हालसम्म कायमै छ ।
महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमबारको व्रतको महत्व छ । साउन महिना जताततै हरियाली हुने भएका कारण पनि हरिया चुरासहित श्रृङ्गारका समान पहिरिनु प्रकृतिसम्मत प्रचलन हुनसक्ने अध्यक्ष गौतमको भनाइ छ । साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको अत्याधिक भिड लाग्छ ।
साउन महिनाको पहिलो दिन लुतो फाल्ने प्रचलन छ । भलायो, आरुको बियाँ, धसिङ्गरे, कुरिलो, उखुको पातलगायतका सामग्री नाङ्ग्लामा राखेर सालको काठको अगुल्टो बालेर धुवाँ बनाउँदै हुइँक्याउने गरिन्छ । बर्खायाममा हिलो, झरी हुने र यो समयमा फोहोरमैला बढी हुने भएकाले छाला चिलाउने समस्या बढी देखिन्छ । त्यसैले साउन १ गते अर्थात् साउने सङ्क्रान्तिमा परम्परागत पद्धतिबाट लुतो फाल्ने प्रचलन चलेको हो ।
बागमती अञ्चल आयुर्वेद औषधालय प्रमुख डा. अञ्जु कार्कीका अनुसार मानिसबाट जनावर र जनावरबाट मानिसमा सर्ने अति चिलाउने र शरीरभरि फैलने चर्मरोग अगुल्टो हुइँक्याएर मात्र नहुने धारणा व्यक्त गर्नुहुन्छ । झरी र हिलो हुने यो बेला चर्मरोग लाग्ने भएकाले उपचार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । “यस्ता खालका रोगको उपचार आयुर्वेदबाट प्रभावकारी रूपमा हुनसक्छ, यसबाट मुक्ति पाउन उपचार नै गर्नुपर्छ”, डा. कार्कीले भन्नुभयो ।
वीर अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. विष्णु बस्नेतका अनुसार लुतोबाहेक जटिल अन्य चर्मरोग पनि हुने गरेकाले परम्परा धान्न अगुल्टो हुत्याए पनि नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालमा उपचार गराउनु बुद्धिमानी हुनेछ ।