पाेखरामा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ४ जना पक्राउ, २ बालिकाकाे उद्धार

पोखरा — मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा कास्की प्रहरीले ४ जनालाई पक्राउ गरेको छ भने २ जना बालिकाको उद्धार गरिएको छ।


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिति २०८३ वैशाख ५ गते साँझ करिब ७ बजे पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा होहल्ला तथा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको हो।

 

प्रहरीका अनुसार आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई विभिन्न प्रलोभन देखाई खाना–बस्न सुविधा सहित राम्रो तलब दिने भन्दै होटलमा काम लगाउने, त्यसपछि केही समयपछि होटलमा आउने पुरुषहरूसँग जबरजस्ती रात बिताउन लगाई अनैतिक कार्यमा संलग्न गराउने गरिएको खुलेको छ।

 

प्रहरीले सो स्थानबाट २ जना बालिकाको उद्धार गरेको जनाएको छ। घटनामा संलग्न ४ जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको छ।

 

पक्राउ पर्नेहरूमा मोरङ घर भई हाल पोखरा–१७ बस्ने २१ वर्षीया महिला (परिवर्तित नाम “कास्की ६८”), सिन्धुली घर भई पोखरा–८ बस्ने ३१ वर्षीया खाजाघर सञ्चालक (परिवर्तित नाम “कास्की ६९”), पोखरा–२६ बुढीबजारका ५० वर्षीय विष्णु बहादुर राजभाट र भारतको बिहार घर भई पोखरा–९ नयाँबजार बस्ने ३१ वर्षीय अमिर उल्ला मियाँ रहेका छन्।

 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिएका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...