बैतडी, साउन २१ गते । बँदेलका लागि थापेको विद्युतीय पासोमा परेर बैतडीमा एकैघरका दुईजना दाजुभाइको मृत्यु भएको छ । बैतडीको सुर्नया गाउँपालिका–५ स्वाली घर भएका १८ वर्षीय अमृत चन्द र उनका दाजु २१ वर्षीय सन्तोष चन्दको करेन्ट लागेर मृत्यु भएको रौलेश्वर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दले जानकारी दिनुभयो ।
बुधबार राति सवा ९ः बजेतिर दुई जनाको मृत्यु भएको प्रहरीलाई जानकारी आएकोे बताइएको छ । बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताउनुभयो ।
घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट टोली खटाइएको बैतडी प्रहरीले जानकारी दिएको छ ।बैतडीका पछिल्लो समय जङ्गली जनावर बँदेलले मकै बाली सखाप पार्न थालेको छ । नियम अनुसार बँदेल मार्न नपाईने भए पनि किसानले मकै बारीमा पासो थाप्ने गरेका छन् ।