सत्ताधारीहरुको पोजिसन प्रष्ट नभएसम्म धारणा बनाउँदैनौं :अध्यक्ष ओली

काठमाडौं, भदौ २४ गते । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारसहितको टोलीको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुसँग बालकोटमा भेटवार्ता भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने भएको छ । आफ्नो निवास बालकोटमा बिहीबार भेट्न आइपुगेकी एमसीसी अध्यक्ष फतिमा सुमारलाई अध्यक्ष ओलीले उक्त जवाफ दिएका हुन् ।

सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ओलीले बताएको एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।‘हामीले हतारिएर पोजिसन बनाउँदैनौं । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ भट्टराईले भने, ‘अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभयो ।’

अध्यक्ष ओलीका प्रमुख स्वकीय राजेश बज्राचार्यका अनुसार  बैठकमा एमालेबाट परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य विष्णु रिमाल, केन्द्रीय सदस्य सूर्य थापा लगायतका नेताहरुको सहभागिता रहेको थियाे।

चार दिनका लागि नेपाल भ्रमणमा आउनुभएकी पूर्वाधार परियोजना उपाध्यक्ष फतिमासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासहित संसदमा सहभागी प्रमुख दलका नेताहरुसँग भेट्ने कार्यतालिका बनाएको बुझिएको छ । नेपाल भ्रमणकाे पहिलाे दिन एमसीसी प्रतिनिधिहरुले पहिलो भेट अध्यक्ष ओलीसँग गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री  शेरबहादुर देउवासँग शुक्रबार साँझ बालुवाटारमा भेटघाट गर्ने तालिका रहेको बताइएको छ । त्यस्तै, एमसीसी प्रतिनिधिहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेता डा. बाबुराम भट्टराई लगायतसँग भेटघाट गर्ने तयारी गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...