सरकारले प्लास्टिक झोलामुक्त नेपाल अभियान सञ्चालन गर्ने

काठमाडौँ, असोज १६ गते । सरकारले एक पटक मात्र प्रयोग हुने पातलो प्लास्टिक झोलामुक्त नेपाल अभियान सञ्चालन गर्ने भएको छ । नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारले यो अभियान सञ्चालन गर्न थालेको सरकारी अधिकारीले बताएका छन् ।


४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाले वातावरणीय प्रदूूषण बढाएको र जथाभावी फ्याँक्ने प्रवृत्तिले माटोभित्र पनि नकुहिने भएकाले त्यस्तो खालको प्लास्टिकको झोलालाई प्रतिबन्ध लगाउने योजना सरकारले बनाएको छ । ४० माइक्रोनभन्दा बढीको पुनः प्रयोग गर्न मिल्ने वा प्लास्टिकको विकल्पमा कपडा वा कागजको झोलालाई प्रोत्साहन गर्ने गरी सरकारले यो योजना अघि बढाउन थालेको छ ।


त्यसका लागि वातावरण विभागले कार्ययोजना तयार पारेको छ । कार्ययोजना स्वीकृत भएपछि यो अभियानको काम थालनी गरिने विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले बताउनुभयो ।२०७८ साल भदौ २८ गते वन तथा वातावरण मन्त्रालयले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्ण रूपले रोक लगाउन राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।


कार्ययोजनाअनुसार ४० माइक्रोनभन्दा कमका झोला उत्पादन, आयात, ओसारपसार, भण्डारण तथा बिक्री वितरणमा पूर्ण रोक लगाइने भएको छ । सोभन्दा माथिका झोला तथा वैकल्पिक वस्तुको झोला प्रयोगमा प्रोत्साहन गर्न चाहने प्लास्टिक उद्योगलाई नयाँ मेसिनका लागि पुँजीगत अनुदान दिइने र नयाँ प्रविधिको मेसिनका लागि प्राविधिक सहयोग सरकारले उपलब्ध गराउने भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...