धार्मिक पर्यटन समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

पोखरा, असोज १६ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताउनुभएको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा मुख्यमन्त्री पोखरेलले नवलपुरको त्रिवेणी, गजेन्द्रमोक्ष धामदेखि मुस्ताङको दामोदरकुण्डसम्मको क्षेत्रलाई धार्मिक करिडोरको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

प्रदेशभर रहेका धार्मिक पिठका प्रमुखहरुलाई एक ठाउँमा भेला गराएर संयुक्त अवधारणा बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । धर्मलाई संस्कृति, समाजसेवा र विविध क्रियाकलापमा जोड्न सके आर्थिक क्रियाकलाप समेत बढ्ने उहाँको भनाइ थियो ।

कालीगण्डकी नदी केबल नदी नभएर सभ्यता, संस्कृति र सम्पदा रहेको भन्दै उहाँले भन्नुभयोे, ‘यसैको महत्व र सम्भाव्यता अध्ययनका लागि गण्डकी प्रदेश सरकारले समिति गठन गरेको छ, कालीगण्डकीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि समेत हामी पहल गर्छौं ।

धर्मलाई सामाजिक क्षेत्र, शिक्षा र विकासका गतिविधिसँग जोड्न सकिन्छ भन्ने उदाहरण विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रस्तुत गरेको भन्दै प्रदेशका अन्य पिठहरुले समेत यसको अनुकरण गर्न आग्रह गर्नुभयो । मन्दिर परिसरलाई व्यवस्थित बनाउने मात्र नभइ गुरुकुल, प्राकृतिक चिकित्सालय, ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरेको भन्दै उहाँले समितिको कार्यको प्रशंसा गर्नुभयो । प्रदेश समृद्धिको पहिला आधार नै पर्यटन भएकाले कोरोनाले आक्रान्त बनाएको यस क्षेत्रलाई चलायमान बनाउन नेपालस्थित राजदूहरुलाई गण्डकी सरकारले पोखरा बोलाएर विशेष कार्यक्रम गरेको पनि उहाँले स्मरण गर्नुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व वरिष्ठ लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवसले धर्मसँग जोडिएको संस्थाले संस्कृति र समाजसेवाको क्षेत्रलाई अगाडि बढाउन देखाएको क्रियाशीलताप्रति उनले प्रशंसा गर्नुभयो । सिर्जनशीलताकै कारण मानव जीवन सार्थक हुने भन्दै कला, साहित्य, संस्कृतिको क्षेत्रमा लागेका व्यक्ति कहिल्यै पूर्व नहुने भनाइ राख्नुभयो ।

धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले लामो आरोहअवरोह पार गरेर समिति अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । समितिका क्रियाकलापलाई अझ प्रभावकारी बनाउन आफूहरु अहोरात्र खटिएको भनाइ उहाँले राख्नुभयो ।

समिति सचिव तीर्थ श्रेष्ठले लकडाउनको सदुपयोग गर्दै विन्ध्यवासिनी माताको मूर्ति जिर्णोद्धार गरिएको बताउनुभयो । निकै जीर्ण भएको मुर्ति पुरातत्व विभागको स्वीकृतिमा जिर्णोद्धार गरिएको भन्दै उहाँले अब मुर्तिमा अक्षता र फूल चढाउन रोक लगाइएको जानकारी गराउनुभयो । मन्दिर परिसरमा रहेको पोखराकै पुरानो तहसिल भवन पुनर्निर्माण, प्राकृतिक चिकित्सालय निर्माण, गुरुकुल भवन निर्माणका काम पनि भइरहेको सचिव श्रेष्ठले बताउनुभयो । अब विन्ध्यवासिनीमा रात्रिकालीन पूजा सञ्चालनका लागि बिजुलीको प्रबन्ध गर्न लागिएको उहाँले जानकारी गराउनुभयो ।

समितिका पूर्व अध्यक्ष हेमबहादुर प्रधानले स्थापना गरेको हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार यो वर्ष वरिष्ठ लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवसले प्राप्त गर्नुभयो   । यो पुरस्कार हरेक २ वर्षमा प्रदान गरिन्छ । २०७६ को यो पुरस्कार महिला सशक्तीकरणकामा सक्रिय दुर्गा घिमिरेलाई प्रदान गर्न निर्णय भए पनि उहाँ उपस्थित हुन सक्नुभएन । समिति सचिव तीर्थ श्रेष्ठले घिमिरेको घरमै पुगेर पुरस्कार अर्पण गरिने जानकारी गराउनभुयो । पुरस्कारको राशि १ लाख रुपैयाँ छ ।

उक्त अवसरमा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्त रोहितराज बास्तोलाई बधाई अर्पण समेत गरिएको थियो ।

१९९८ असारमा धनकुटामा जन्मिएका दिवस सानैदेखि कला, साहित्य, संस्कृतिमा रुचि राख्ने दिवस उच्च शिक्षको अध्ययनसँगै साहित्यतर्फ मोडिएका थिए । उनी संस्कृतिको अनुसन्धानमा पनि अनवरत क्रियाशील  हुनुहुन्छ ।

दुर्गा घिमिरे ४ दशकभन्दा लामो समयदेखि महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । ‘घिमिरेले महिला बेचबिखन तथा सशक्तीकरणको क्षेत्रमा लामो समयदेखि योगदान दिनुभएको छ ।  २००५ साल वैशाख ३ गते सुनसरीको धरानमा जन्मेकी दुर्गा घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गनुृभएको छ ।  २०३३ सालदेखि सामाजिक सेवा र महिला अधिकारको क्षेत्रमा उनी क्रियाशील  हुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...