राजाराम पौडेल, पोखरा १६ कार्तिक ।पोखरामा आयोजित गण्डकी प्रदेश स्तरिय नाटक निर्देशन कार्यशाला सोमबार सम्पन्न भएको छ । समापन समारोह गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । पोखरा थिएटरको गन्धर्व नाटकघरमा भएको कार्यक्रममा बोल्दै गुरुङले कला, साहित्य र भाषाको संरक्षण गर्नका निम्ति गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको बताउनुभयो । ‘कला, साहित्य, भाषाको कदर हुने समाज निर्माण गरी मौलीक र सुसंस्कृत बनाउने पहिलो प्रयासमा गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको हो’ निर्वतमान मुख्यमन्त्री गुरुङले भन्नुभयो । प्रतिष्ठान पूर्ण भने नभएको भन्दै सुरुवात मात्र गरिएको उहाँको स्पोष्टोक्ति थियो । पोखरामा व्यक्तिगत प्रयासमा थिएटर स्थापना हुनु ज्यादै सकारात्मक कार्य भएको भन्दै उहाँले प्रशंसा गर्नुभयो । यस्ता थिएटर सरकारले स्थापना गर्नुपर्नेमा उहाँको जोड थियो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुँवर, वरिष्ठ रंगकर्मी अनुप बराल, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मनकुमार श्रेष्ठ, कार्यशालाका संयोजक समेत रहेका प्राज्ञ सदस्य सुरेन्द्र गुरुङ, प्रशिक्षार्थीहरु ज्योती हमाल, किसान विकले बोल्नुभएको थियो ।
समापन समारोहमा कार्यशालामा सहभागीहरुले तयार पारेका दुईवटा नाटक समेत मञ्चन गरिएको थियो । ‘ह्वाट इफ’ र ‘सन्तानको सौगात’ शिर्षकमा देखाइएका यी नाटकले उपस्थित दर्शकको राम्रो साथ पाए ।गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा गत कार्तिक ५ गतेबाट सुरु भएको यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्ला मध्य मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाबाट २२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा १५ जना प्रशिक्षकले प्रशिक्षार्थीलाई प्रशिक्षण गराएको कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
कार्यशालाले गण्डकी प्रदेशमा नाटक प्रतिको आर्कषण बढाउन सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको छ । प्रतिष्ठानले नाटकसँग सम्बन्धित अन्य कार्यक्रम समेत आयोजना गर्ने सदस्य सचिव मनकुमार श्रेष्ठले जनाउनुभयो । पोखरा थिएटरसँगको सहकार्यमा आयोजित कार्यशाला पोखरा थिएटरको गन्धर्व नाटकघरमा सञ्चालन भएको थियो । कार्यशालामा सहभागी भएकाहरुको सक्रियतामा गण्डकी प्रदेशमा नाट्य गतिविधि अगाडि बढ्न सघाउने सदस्य सचिव श्रेष्ठको भनाई छ ।