पोखरा, २४ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाउन प्रदेशवासीमा अनुरोध गरेका छन् । राष्ट्रिय जनगणना २०७८ का अवसरमा बुधबार एक अपिल जारी गर्दै मुख्यमन्त्री पोखरेललेसही तथ्यांकले प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुने र त्यसको फाइदा प्रदेशवासीलाई नै हुने उल्लेख गरेका हुन् ।
नेपालमा १२ औं जनगणना बिहीबार अर्थात कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुँदैछ । राज्यको पुनसंरचनापछि अर्थात् देशले संघीय शासन प्रणाली अंगालेपछिको यो पहिलो जनगणना भएकाले यसपटकको जनगणनाको खास महत्व रहेको मुख्यमन्त्रीले जनाएका छन् । प्रदेश भनेको संघीयताले जन्माएको नयाँ प्रणाली हो । प्रदेशमा आधारित भएर हालसम्म यति ठूलो कुनै पनि अध्ययन अनुसन्धान भएको छैन । २०७२ सालमा संविधान जारी भएसँगै प्रदेशहरुको स्थापना भए पनि हाम्रो तथ्यांक थिएन । उनले भनेका छन्, ‘२०६८ सालमा राज्यको पुरानो संरचना अन्तगरगत गरिएको नगणनाका तथ्यांकलाई नै हामीले उपयोग गरेर यहाँसम्म आइपुगेका छौं । तर यसपालि जनगणनाले नेपालमा पहिलोपटक प्रादेशिक मोडलमा आधारित जनसंख्या तथ्यांक उपलब्ध गराउनेछ । यो खुसीको कुरा हो ।’
यसपटकको जनगणनामा रोजगार, बेरोजगार, बैंक तथा वित्तीय संस्थामा पहुँचको अवस्था, सरकारी अनुदान प्राप्त गरेको, नगरेको, वडा तहसम्म सामुदायिक भवनहरुको अवस्था के छ कस्तो छ, जस्ता मसिना तर नागरिकका लागि अति महत्वपूर्ण विषयका प्रश्नावली पनि समेटिएको छ । जनगणनाको तथ्यांक संकलनको पहिलो चरण अन्तरगत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरीवेक्षकहरु सबैको घरदैलोमा पुगी घर तथा परिवार सूचीकरण कार्य सम्पन्न भइसकेको छ ।
जनगणनाका क्रममा टिपाएका तथ्यांक गोप्य रहने भन्दै मुख्यमन्त्रीले उल्ल्ेख गरेका छन्, ‘यस्ता विवरण गोप्य नराख्ने वा गोपनियता भंग गर्ने जो कोहीलाई कानुन बमोजिम कारवाही हुन्छ । त्यसैले आफूले टिपाएको विवरणको गोपनियता नरहने हो कि भनेर कसैले द्विविधा लिनु पर्दैन ।’ आफ्ना घरमा तथ्यांक संकलन गर्न आउने गणकलाई आत्मीय व्यवहार गर्न पनि उनले आग्रह गरेका छन् । उनले उल्लेख गरेका छन्, ‘गणकले सोधेका सबै प्रश्नहरु धैर्यपूर्वक सुनेर सही जवाफ दिन प्रदेश सरकार सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछ ।’