पोखरा, कार्तिक २५ गते ।गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले अन्याय र अत्याचार बिरुद्ध अरिङगाल झै खनिन आग्रह गर्नु भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन दोश्रो पोखरा महानगर÷चौथो कास्की जिल्ला परिषदको बुधबार उद्घाटन गर्दै नेकपा माओबादी गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले माओबादीका नेता एवं भातृ संस्थाका पदाधिकारीहरु अन्याय र अत्याचार बिरुद्ध अरिङगाल झै खनिन आग्रह गर्नु भएको हो ।
माओबादीमा पहिलाको जस्तो जुजारु पन निकाल्ने गरी लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै मन्त्री बरालले माओबादी विचार तथा एजेण्डामा सर्वश्रेष्ठ पाटी रहेको दाबी गर्नु भयो । गृहकार्य गरी बृहत कम्यूनिष्ट एकता आवश्यक भएको उहाँको भनाई थियो । पार्टी संगठन र शिक्षक संगठन विस्तार गर्न गाउँ गाउँका दुर दराजसम्म पुग्न मन्त्री बरालले आग्रह गर्नु भयो ।
पार्टी अध्यक्ष प्रचण्डमा हाल उर्जा पैदा भएको बताउदै मन्त्री बरालले हिजो अनुभवका कमीले केही कमजोरी भए पनि अहिलेको माओबादीमा धेरै कुराको अनुभव र ज्ञान प्राप्त भएको बताउनु भयो । विगतलाई समिक्षा गर्दै अब नयाँ ढंगले सोच्नुपर्ने समय आएको मन्त्री बरालको भनाई थियो ।
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक) ले माओबादीको मिसन पुरा गर्न व्यवहारिक रुपमा सवैको ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भयो । माओबादी कास्कीका इन्चार्ज बखानसिंह तमुले पार्टी सुदृणको लागि कमजोरी पत्ता लगायर एकता बद्ध भएर अघि बढ्नुपर्ने बताउनु भयो । संगठनका कास्की इन्चार्ज एवं केन्द्रिय सदस्य गोपालमणि लामिछानेले यही कार्तिक २७ गते पोखरामा संगठनको प्रदेश स्तरिय सम्मेलन हुने भएको बताउनु भयो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीका समन्वय समितिका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संगठनका प्रदेश उपाध्यक्ष शोभा गुरुङ, नेपाल शिक्षक महासंघका महेन्द्र पौडेल, संगठनका महानगर अध्यक्ष भुवन सुवेदी, संगठन कास्कीका पूर्व अध्यक्ष कृष्ण उदासी, संगठनका महानगर उपाध्यक्ष यादव प्रसाद भट्टराई, महानगरका सचिव प्रकाश रिजाल, शिक्षक सम्झना कट्टेल लगायतले वोलेका थिए । संगठनको महानगरमा ५१ र जिल्लामा ९९ सदस्य परिषद गठन हुने भएको छ ।