पोखरा, मंसिर ११ गते । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले आज देशैभरिका पालिकामा अधिवेशन गर्ने भएको छ । सात सय ५३ वटै पालिकामा माओबादीले पहिलो पटक अधिवेशन गर्न लागेको हो । माओबादी अध्यक्ष प्रचण्डले भर्चुअल मार्फत अधिवेशनको उद्घाटन गर्ने माओबादी केन्द्रले जनाएको छ । सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी माओबादीको छ । यसैवीच कास्कीका पाँच वटै स्थानीय तहमा पालिका सम्मेलन हुने भएको छ ।
आसन्न राष्ट्रिय सम्मेलनको कार्यतालिका अनुसार जिल्लाका ७२ वटै वडामा नेतृत्व चयन गरेको माओवादीले पालिका अधिवेशन मार्फत पालिका कमिटी चयन गर्न लागेको हो । पोखरा महानगरपालिका तथा मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा एकै दिन गरिने सम्मेलनको सबै तयारी पूरा भएको माओवादी केन्द्र जिल्ला समन्वय समिति कास्कीका संयोजक बखानसिँह गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलन पालिकामा पार्टीलाई सशक्त ढंगबाट अघि बढाउन ऐतिहासिक हुनेछ ।
माओवादी केन्दले पोखरा महानगर कमिटीको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न गर्ने गरी तयारी गरिएको जनाएको छ । यसैगरी पार्टीका वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले अधिवेशनस्थल पोखरा सभागृहमा आएर कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको बताइन्छ । अधिवेशनले आगामी तीन वर्षका लागि ९९ सदस्सीय महानगर कमिटी निर्वाचित गर्नेछ ।
अधिवेशन सम्पन्न गर्नका लागि डा कृष्णराज अधिकारीको संयोजकत्वमा पाँच सदस्सीय निर्वाचन समिति गठन गरिएको सो पार्टीले जनाएको छ ।
अध्यक्ष लामिछानेका अनुसार अधिवेशनको भव्यताका साथ सम्पन्न गर्न विभिन्न १२ वटा उपसमिति गठन गरिएको छ । अधिवेशनका अवसरमा जनयुद्धका शहीद, घाइते तथा बेपत्ताका परिवारजनलाई सम्मान गर्ने कार्यक्रम रहेको महानगर कमिटीका कार्यालय सदस्य जनक पराजुलीले जानकारी दिनुभयो । अधिवेशनमा महानगरका ३३ वटै वडाबाट निर्वाचित ५०१ प्रतिनिधि सहभागि हुने बताइन्छ । माओवादीको महानगरमा आठ हजार संगठित पार्टी सदस्य छन् ।