यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार केशवप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । पत्रकार विजयबाबु खत्रीको दशौँ स्मृति दिवसका अवसरमा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार पौडेललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
पत्रकार पौडेल २०४२ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । हाल उहाँ न्यु स्पटलाइट पाक्षिक म्यागजिनका प्रकाशक र सम्पादक हुनुहुन्छ । काठमाडौँ–३२, कोटेश्वरका स्थायी बासिन्दा पौडेल सन् २००६ मा ‘डेभलपिङ एसिया जर्नालिज्म अवार्ड’बाट सम्मानित हुनुभएको थियो । खेलकूद बिटबाट समाचार लेखन सुरु गर्नुभएका पौडेल पछिल्लो समय विकास र आर्थिक विषयवस्तुमा कलम चलाउनुहुन्छ ।
पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेल र नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्रीसहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार पौडेललाई सो पुरस्कार दिने निर्णय गरेको हो ।आर्थिक पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मङ्सिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा पत्रकार खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उहाँको धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मङ्सिर १२ गते अक्षय कोष स्थापना गर्नुभएको थियो ।
केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही मङ्सिर २४ गते पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि रु ३४ हजार छ । सो पुरस्कार पहिलो वर्ष वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी र दोस्रो वर्ष स्वर्गीय गोकर्ण गौतमलाई प्रदान गरिएको थियो ।