काठमाडौँ, पुस २ गते । सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका सबै स्थानीय तह र अन्तर्गतका कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।
टेलिकम र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बिहीबार भएको सम्झौताअनुसार वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा कम्पनीले आफ्नो सेवा उपलब्ध गराउनेछ ।
सम्झौताअनुसार मन्त्रालयले यी कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड सेवाका लागि माग सङ्कलन तथा कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तह र नेपाल टेलिकमसँग आवश्यक सहजीकरण तथा समन्वय गर्नेछ । त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणमा रहेको ग्रामीण दूरसञ्चार कोष प्रयोग गरी नेपाल टेलिकममार्फत सञ्चालित परियोजना कार्यान्वयनमा पनि मन्त्रालयले सहजीकरण गर्नेछ ।