पुस ११ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशन आजदेखि सुरु भएको छ । आजदेखि काठमाडौमा सुरु हुने महाधिवेशनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ ।यति बेला विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना ब्यक्त गरिरहनुभएको छ ।
महाधिवेशनको उद्घाटन आज हुँदै छ । चिनियाँ सर्वोच्च नेता माओत्सेतुङको जन्मदिन (डिसेम्बर २६)पुस ११ को अवसर पारेर महाधिवेशनको उद्घाटन गरिँदै छ । महाधिवेशनले नयाँ विचारसहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने घोषणा गरिएको छ । महाधिवेशनलाई विचार र नयाँ राजनीतिक कार्यदिशा निर्माणमा केन्द्रित गरिने भएको छ ।
महाधिवेशन नयाँ नेतृत्व, विचार र राजनीतिक कार्यदिशा तय गर्ने बताइएको छ । सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक दस्तावेजमाथि छलफल र बहस गरी नयाँ विचार र कार्यदिशा निर्माण गरिने छ ।जनयुद्धदेखि खुला राजनीतिसम्मका कमीकमजोरीका विषयमा आत्मसमीक्षासहित नयाँ कार्यदिशा निर्माण गरिने बताइएको छ ।
महाधिवेशनमा देशभरबाट एक हजार ६३१ जना प्रतिनिधिको सहभागिता हुनेछ । जसमा १० प्रतिशत मनोनीत हुनेछन् । महाधिवेशनमा सहभागी प्रतिनिधिले आफ्नै खर्चमा खाने, बस्ने व्यवस्था गर्नुपर्नेछ । पार्टीको अन्तरिम विधानअनुसार बहुपदीय प्रणालीमा नेतृत्व चयन हुनेछ । जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष चयन हुनेछन् । पदाधिकारीको सङ्ख्या १५ जना हुने प्रस्ताव गरिए पनि उपाध्यक्ष, उपमहासचिव र सचिवको सङ्ख्या भने तोकिएको छैन ।
कुल २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्तावित अन्तरिम विधानमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिमको ५ प्रतिशत कोटा व्यवस्था गरिएको छ । १३ प्रतिशत दलितलाई २ प्रतिशत थप गरेर विशेष अधिकार व्यवस्था गरिएको छ । २९९ केन्द्रीय समितिमा दलित समुदायबाट ४५ जना आउनेछन् । ६७ जना महिला र १५ जना मुस्लिम समुदायबाट आउनेछन् । केन्द्रीय समितिमा ४८ जना युवाको प्रतिनिधित्व हुँदै छ ।पुस ११ गते कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा उद्घाटन हुने महाधिवेशन पुस १५ गते सम्पन्न हुनेछ ।