पोखरा, पुस १३ गते । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पाँच दलीय गठबन्धले नेकपा एमालेलाई फरक नपर्ने दावी गर्नुभएको छ । पोखराको पृथ्वीनाराण क्याम्पसमा नेरास्ववियूले आयोजना गरेको कार्यक्रममा बोल्दै अगामी निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको बताउनुभयो ।
नेपाली जनताको साथ एमालेलाई छ त्यसैले गठबन्धले फरक पार्नेवाला छैन् उहाँले भन्नुभयो,‘एमालेसंग एक्लै प्रतिस्पर्धा गर्ने तागत कसैसंग छैन् । पाँच वा दश दलीय गठबन्धन भएपनि हामीलाईइ फरक पर्दैन ।’ उपमहासचिव ज्ञवालीले जहिले निर्वाचन भएपनि एमालेले बहुमत ल्याउने र एकनम्वर पार्टी बन्ने दावी गर्नुभयो ।
‘हामीले ताजा जनमतमा जाने कुरा गर्दा अदालतमा गलत प्रभाव पारेर निर्वाचन हुन दिइएनन । त्यसैले जहिले गरेपनि एमालेले बहुमत ल्याएर एक नम्वर पार्टी बन्छ ।’ उहाँले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न एमालेको नेतृत्व आवश्य रहेको बताउदै निर्वाचन केन्द्रीत हुन आग्रह गर्नुभयो ।उहाँले वामपन्थी सरकार ढाल्न बामपन्थीहरुनै प्रयोग भएको बताउदै भन्नुभयो,‘रुख काट्न जसरी बञ्चरोमा काठको विड प्रयोग गरेर ढाल्न सकिन्छ । त्यस्तै गरी बामपन्थी सरकार ढाल्न बामपन्थीहरुलाई नै प्रयोग गरियो ।’
उपमहासचिव ज्ञवालीले नेपाली जनताले बामपन्थीलाई दिएको मत काँग्रेसको पाउमा चढाएर बामपन्थी सरकार ढाल्न प्रचण्ड र माधव नेपाल प्रयोग भएको बताउदै वर्तमान सरकार विदेशीको कम्फरटेबल सरकार बनेपनि जनताको नभएको बताउनुभयो ।