काठमाडौं, पुस २० गते । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका सत्ता गठबन्धनका पाँचसहित नौ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा लगायतका दल छन् ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी रहेका छन् । प्रवक्ता पौडेलका अनुसार नौ दलबाट ४३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम अनुसार आज सबै निर्वाचन अधिकृतहरुको कार्यालयमा उत्साहजनक रुपमा उम्मेदवारको मनोनयपत्र दर्ता भएको छ । प्राप्त विवरण अनुसार देहाय बमोजिम ४३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
भोलि २१ उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगको निर्वाचन तालिका छ।