पोखरा, माघ १२ गते । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको छ । १९ सिटका लागि भएको मतदानमा काँग्रेस, माओबादी केन्द्र, एकिकृत समाजबादी, जसपा र जनमोर्चा गठबन्धनले १८ सिट जिते भने प्रदेश १ मा एमालेले एक सिट जितेको छ । गण्डकी प्रदेशमा नेकपा एमालेले आफनो भन्दा बढि मतभार ल्याएको छ ।
गठबन्धन बनाएर निर्वाचनमा होमिएका काँग्रेस, माओबादी केन्द्र र जनमोर्चाको मतभार भन्दा कम थियो एमालेको । तर उसले आफनो भन्दा बढि मत ल्याएको छ । गण्डकीमा नेकपा एमालेको मतभार २५५६ थियो । तर एमालेका महिला तर्फ उम्मेदवार लिला पोख्रेल थनेतले २७२४, खुला तर्फ पुण्यप्रसाद पौडेल २६९० र दलित तर्फ अर्जुन कुमार सुनाम २७२४ मत ल्याए । यता नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर, भुवन नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भए ।
आलेले ३,०९६, सुनारले ३०८४ र पन्तले ३०८४ मतभार पाए । गण्डकीमा ५ दलीय गठबन्धनमा कांग्रेस २१९६, माओवादी ७९२, जनता समाजवादी ९६, राष्ट्रिय जनमोर्चा १५० र एकीकृत समाजवादी १८ मिल्दा मतभार ३ हजार २ सय ५२ थियो । यसरी हेर्दा ५ दलीय गठबन्धनसँग एमाले ६९६ मतभारले पछाडि थियो । मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ पनि गठबन्धनका उम्मेदवारलाई मत हाल्दा ३३०० मतभार थियो । मतदानमा एमालेकै एक जना जनप्रतिनिधि मतदानमा सहभागी नहुदाँ पनि उसले मतभार बढि ल्याएपछि गठबन्धन दलहरुनै आश्चर्यमा परेका छन् । गण्डकी प्रदेशमा तीन मत बदर भएको छ । जनप्रतिनिधिले मतदान गर्दा पनि बदर भएको छ । प्रदेश नम्वर १ मा मात्रै मतदान गर्ने निर्णय गरेको थियो । तर गण्डकी प्रदेशमा राप्रपाका एक जना जनप्रतिनिधिले मतदानमा सहभागी भएर मतदान गरेको बताइएको छ ।
गण्डकी प्रदेशमा ८५ स्थानीय तहका १७० र ६० सदस्यीय प्रदेश सभाका ५९ गरी २ सय २९ जना मतदाता थिए । राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सांसद कृष्ण थापा कारबाहीमा परेपछि प्रदेशसभाको एक पद रिक्त छ ।राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्य मतदाता रहेका थिए । स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ र प्रदेश सभा सदस्यको मतभार ४८ हुने व्यवस्था छ ।