काठमाडौँ, फागुन ६ गते । गैरआवासी नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आउँदो चैतमा गर्नेगरी घोषणा गरिएको छ । एनआरएनएले विज्ञप्तिमार्फत यसअघि विभिन्न कारणले रोकिएको एनआरएनए परिषद्को निर्वाचन चैत ७ र ८ गते गर्नेगरी मिति तय भएको जानकारी गराइएको हो ।
सङ्घले अधिवक्ता भीमसेन बन्जाराको संयोजकत्वमा समिति गठन गरी निर्वाचनको आन्तरिक तयारी थालेको जनाएको छ । समितिका सदस्यहरूमा रामप्रताप थापा (जर्मनी), चिरञ्जीवी ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका) र सदस्य सचिवमा भूषण घिमिरे (जापान) हुनुहुन्छ ।
विगतमा मतदाताको अधिकारसहितका प्रतिनिधिहरूको सूची निर्वाचन समितिलाई उपलब्ध हुन नसक्दा निर्वाचनको कार्य स्थगित भएको थियो । सङ्घका अनुसार फागुन २ गतेसम्म सबै प्रतिनिधिको सूची समितिसमक्ष प्राप्त भइसकेकाले निर्वाचनको मिति घोषणा गरेको
जनाएको छ ।