पोखरा, चैत २२ गते ।पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा मंगलबारदेखि वडास्तरीय भलिबल प्रतियोगिता सुरु भएकोछ । पोखरा रंगशालाको भलिबल कोर्टमा सुरु प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले गर्नुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले पोखरालाई खेल पर्यटनसंग जोडेर लैजानउने योजना अनुसार खेलकुद विकास समिति गठन गरेर अगाडी बढेको बताउनुभयो ।
उहाँले यहाँ पोखरामा खेल पर्यटनको सम्भावना प्रचुर रहेको बताउदै पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सबैको सहयोग र साथ आवश्यक रहेको उल्लेख गर्नुभयो । पोखरा पर्यटनको मात्रै हैन खेलकुदको पनि सहर हो उहाँले भन्नुभयो, त्यसैले यहाँ हुने नवौ राष्ट्रिय खेलकुदलाई सफल बनाउनुपर्छ । उहाँले स्वस्थ नागरिक उत्पादनका लागि खेलकुद आवश्यक रहेको बताउदै स्वस्थ नागरिक विना देश समृद्ध बन्न नसक्ने भएकाले यसको महत्व रहेको छ भन्नुभयो ।
वडास्तरीय भलिबल प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले महानगर खेलकुद विकासले खेलकुद प्रतियोगिता सञ्चालन गरेर नवौ खेलकुदका लागि खेलाडी उत्पादनमा भुमिका खेलेको बताउनुभयो । महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले पोखरा महानगरले ११ वटा खेललाई प्राथमिकतमा राखेर प्रतियोगिता र प्रशिक्षण सञ्चालन गरिरहेको बताउनुभयो । वडा तहबाटै भलिबल खेलाडी उत्पादन गर्ने उद्देश्यले वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।
प्रतियोगितामा पोखरा महानगरका १५ वटा वडा सहभागि भएको समितीका सदस्यसचिव सुवास खड्काले जानकारी दिनुभयो । बुधबार सम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख २० हजार, उपविजेताले नगद ७० हजार, तृतिय हुने टिमले नगद ४० हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने समितीका सदस्य सचिव खड्काले सफल न्यूज डट.कमलाई जानकारी दिनुभयो । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट हुने पाँच विद्याका खेलाडीहरुलाई जनही नगद ५ हजार प्रदान गरिने छ ।प्रतियोगिता अन्तर्गत महिलाहरुको छनौट समेत गरिने भएको छ ।