हिमालयन र इन्भेष्टमेन्ट बैंकको साधारण सेयर कारोबार खुल्दै

काठमाडौँ — करिब १ वर्षदेखि रोक्का रहेको हिमालयन र इन्भेष्टमेन्ट बैंकको साधारण सेयरको कारोबार अब खुल्ने भएको छ । ती कम्पनीहरुको आधारभूत सेयर (संस्थापक) रोक्का राख्ने र सर्वसाधारण समूहको सेयर कारोबार खुल्ला गरिदिने निर्णय राष्ट्र बैंक सञ्चालक समितिले गरिसकेको छ । यद्यपि सेयर कारोबार खुलाउनका लागि राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पत्र लेख्नुपर्ने हुन्छ ।

यी बैंकको सेयर कारोबार खुलाउने सम्बन्धमा मंगलबारसम्म राष्ट्र बैंकको पत्र प्राप्त नभएको नेप्सेले जनाएको छ । ‘राष्ट्र बैंकको पत्र प्राप्त नभई सेयर कारोबार खोल्न मिल्दैन,’ स्रोतले भन्यो, ‘मंगलबारसम्म पत्र प्राप्त भएको छैन ।’ तर, आधारभुत (संस्थापक सेयरसहित) सेयर कारोबार भने ती संस्थाको अर्को कुनै संस्थासँग मर्जर नहुँदासम्मका लागि रोकिएको राष्ट्र बैंकले जनाएको छ । ‘मर्जरका कारण बन्द रहेको इन्भेष्टमेन्ट र हिमालयन बैंकको सर्वसाधारण समूहको सेयर खुला गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र गइसकेको हुनुपर्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अब ती संस्थाका सर्वसाधारण सेयर कारोबार हुन पाउँछन् । तर आधारभूत सेयर भने रोक्का नै रहन्छ ।’

मर्जर प्रक्रिया तोडेको आरोपमा नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र इन्भष्टमेन्ट बैंकलाई कारबाही गरेको छ । सैद्धान्तिक सहमति पाएपछि उचित कारणबिनै मर्जर प्रक्रिया तोडेको भन्दै राष्ट्र बैंकले ती बैंकलाई कारबाही गरेको हो । कारबाहीस्वरुप आधारभूत सेयरधनीको लाभांश र दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको हो । दुवै बैंकले यथाशीघ्र अरू कुनै वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपर्ने र हिमालयन बैंकका सञ्चालकहरूलाई स्पष्टीकरणलगायत कारबाही राष्ट्र बैंकले जनाएको छ । आपसमा गाभिन राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति (लेटर अफ इन्टेन्ट) पाएको करिब ९ महिनापछि यी बैंकको मर्जर प्रक्रिया अवरुद्ध भएको थियो । हिमालयन बैंकको साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेपछि प्रक्रिया बीचमै टुटेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...