दिपक गिरी, सफलन्यूज, पोखरा, असार २१ गते ।पोखराका निर्वतमान मेयर मानबहादुर जिसीले मुख्य तीन ठाँउका सरकारी जग्गा नीजि क्षेत्रलाई भाडामा दिएको रहस्य खुलेको छ । उनले एकल निर्णयबाट आफनो कार्यकाल सकिन दुई दिन बाँकी छदाँ सम्झौता गरेको खुलेको हो ।

कार्यकाल सकिन दुई दिन बाँकी रहँदा जिसीले ६३ रोपनी सरकारी जग्गा ठेक्कामा लगाएको खुलेको हो । पोखराको राष्टबैक चोकमा रहेको पर्यटन बसपार्क ठेक्कामा गएको थाहा पाएपछि पोखराका पर्यटन व्यवसायीले नवनिर्वाचित मेयर धनराज आचार्यसग सोमबार जिज्ञासा राखेपछि यो सहस्य खुलेको हो ।
३ जेठमा पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालय, कास्की नजिकै रहेको सवारी ट्रायल सेन्टरको जग्गा, राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्क र गल्फ कोर्स तत्कालीन मेयर जिसीले ठेक्कामा लगाएको खुलेको हो ।५ जेठमा मेयर जिसीको कार्यकाल सकिँदै थियो । मेयर जिसीले ठेक्का लगाउँदा ३ जेठमा पोखराको नयाँ मेयर छान्न खसेको मतको गणना हुँदै थियो ।
गल्फ कोर्सको ४० रोपनी, पर्यटन बसपार्कको १८ रोपनी र सवारी ट्रेनिङ सेन्टरको करिब ५ रोपनी जग्गा मेयर जिसीले व्यावसायिक प्रयोजनका लागि निजी कम्पनीलाई ठेक्कामा दिएका हुन् । पोखरा उपत्यका नगर विकास समितिको स्वमित्वमा रहेका यो जग्गा १० वर्षलाई चोर बाटोबाट ठेक्कामा लगाइएको हो ।
पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष मेयर हुन्छन् । मेयर जिसीले आफैँले हस्ताक्षर गरेर, समितिका सदस्यलाई थाहै नदिई जाँदाजाँदै जग्गा ठेक्कामा लगाएका हुन् । समितिका सदस्य सचिवसमेत रहने महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल आफूले यो निर्णय भएको थाहा नपाएको दावी गरेका छन् ।
नगर विकास ऐनको व्यवस्थाअनुसार मेयर अध्यक्ष, जिल्ला समन्वय समितिले तोकेको एक जना, प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको एक जना अधिकृत, मालपोत, नापी कार्यालयका प्रमुख वा निजले तोकेको एक जना अधिकृत र स्थानीय पालिकाको कार्यपालिकाबाट तोकिएका ३ सदस्य, स्थानीय विकासमा महत्वपूर्ण योगदान गर्ने एक महिलासहित २ जना सदस्य हुन्छन् । समितिको सदस्य सचिव सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । तर, मेयर जिसीले आफ्नो हस्ताक्षरको प्रयोग गरेर सदस्यलाई थाहै नदिई जग्गा ठेक्का लगाएका हुन् ।
आदर्श नेपाल राष्ट्रिय दैनिकमा २६ चैतमा बोलपत्र आह्वानको विज्ञापन निकालिएको हो । यो जग्गा ठेक्कामा लगाउन समितिका प्रशासकीय अधिकृत अशोक सुनार, मेयरका सचिवालयको हात रहेको नगर विकास समिति स्रोत बताउँछ । अधिकृत सुनार आफूले अध्यक्षको निर्देशनअनुसार काम गरेको बताउँछन् ।
राष्ट्रबैंक चोकस्थित गल्फ कोर्स एक्सन बिल्डर्स प्रालिलाई ठेक्कामा दिइएको छ । २ लाख ७२ हजार रुपैयाँ मासिक भाडा उठाउने गरी ठेक्कामा दिइएको हो । बिल्डर्सका विष्णु भण्डारी र मेयर जिसीले ४० रोपनी जग्गा ठेक्कामा सम्झौता गरेका छन् ।
गल्फ कोर्स नजिकैको पोखरा पर्यटन बसपार्क साढे सात करोड रुपैयाँमा निर्माण सकिएको छ । महानगरलाई त्यो हस्तान्तरण पनि भइसकेको छैन । महानगरलाई हस्तान्तरण नै भइनसकेको बसपार्क शिला शालिग्राम निर्माण सेवालाई मासिक २ लाख ७५ हजार रुपैयाँ मासिक भाडामा दिइएको छ । ठेक्कामा लिएको कम्पनीतर्फ छबिलाल कुँवर र समितितर्फ तत्कालीन मेयर जिसीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
मुख्य बजार पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालयले सवारी ट्रायल सेन्टरको रुपमा प्रयोग गर्दै आएको जग्गा पनि १० वर्षका लागि ठेक्कामा लगाइएको छ । ५ रोपनी जग्गा व्यावसायिक प्रयोजनका लागि ठेक्कामा लगाइएको हो । उक्त जग्गाको ठेक्कामा ठेकेदार कम्पनीको तर्फबाट गीरबहादुर पुन र समितिका तर्फबाट अध्यक्षसमेत रहेका मेयर जिसीले १ लाख ३५ हजार रुपैयाँ लेनदेन हुनेगरी हस्ताक्षर गरेका छन् ।
पर्यटन बसपार्क ठेक्कामा लगाएको थाहा पाएपछि पोखराका पर्यटन व्यवसायी यथार्थ बुझ्न सोमबार महानगरपालिका पुगेका थिए । उनीहरुले मेयर धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याललाई भेटेका छन् ।
मेयर आचार्य गलत मनसायले गरेको देखिए सम्झौता खारेज गर्ने बताउँछन् । ‘नगर विकास समितिको औपचारिक डोरबाट नभएको हुनाले केही अलिकति, रातारात, हतारहतार गरेर गरिएको हुँदा केही ने केही नगर्नुपर्ने कुराहरु छन् भन्ने छ । समितिको बैठक बसेर त्यसलाई रिभ्यु गर्छौँ, गलत मनसायले गरेको भए खारेज गर्छौँ,’ उनले भने ।
आफूले प्रमुख प्रशासकीय अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई सोधे पनि दुवैलाई जानकारी नरहेको बताएको सुनाए ।उनकाअनुसार बुधबार पर्यटन बसपार्क निर्माण कम्पनीले महानगरपालिकालाई हस्तान्तरण गर्दैछ ।