पोखरा, असोज २२ गते । कास्की प्रतिनिधि सभा ३ मा दामोदर बैरागीलाई एमालेले टिकट दिएको छ । एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री जगत विश्वकर्मालाई टिकट नदिई बैरागीलाई टिकट दिएको हो । कास्कीको राजनीतिमा पुरानो अनुहार भएपनि संसदीय क्षेत्रमा उनी नयाँ अनुहार हुन । उनले प्रदेश सभा ३ को (क) मा आफनो आकांक्षा प्रस्तुत गरेका थिए । तर पार्टीले उनलाई प्रतिनिधि सभाकै टिकट दिएको छ ।
कास्कीमा जगत विश्वकर्माप्रति धेरै गुनासो रहेका कारण पार्टीले बैरागीलाई टिकट दिएको हो । विश्वकर्मा २०७४ सालमा प्रनितिनिधि सभामा निर्वाचित भएर युवा तथा खेलकुदमन्त्री समेत भएका थिए । तर उनले मन्त्री हुदाँ आफनो ब्यत्तिगत स्वार्थमा मात्रै काम गरेको भन्दै कास्की ३ का मतदाताले गुनासो गर्दै आएका छन् । उनले गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भुमिका खेलेको आरोप कार्यकर्ताले लगाएका छन् । त्यतिमात्र हैन उनले गत स्थानीय निर्वाचनमा टिकट बाडने क्रममा समेत चरम गुटबन्दी गरेर आफना नजिककालाई टिकट सिफारिस गरेको आरोप समेत लगाएका छन् ।
उनका विरुद्धमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग गुनासो पुगेपछि पार्टीले बैरागीलाई टिकट दिएको हो । जगतलाई टिकट नदिनु पार्टीले कारबाही गरे जस्तै हो । उनले राम्रो भुमिका खेलेको भए टिकट पाउने पक्का थियो तर उनका गतिविधिकै कारण टिकट नपाएको बताइएको छ । बैरागीले प्रदेश सभामा आकांक्षा राखेका थिए तर जगतकै कारण उनले टिकट पाएका हुन् ।
कास्की क्षेत्र नम्वर प्रदेश सभा ३ (क) मा गणेशमान गुरुङलाई टिकट दिएको छ भने प्रदेश सभा (ख) मा राजिब पहारीलाई उम्मेदवार बनाएको छ । पहारी निर्वतमान प्रदेश सासद हुन ।उनले २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजय प्राप्त गरेका थिए ।