राजाराम पौडेल, पोखरा २४ मंसिर ।गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) भवन निर्माण गर्ने अभियानमा जुटेको छ । जग्गा खरिद गरेर आफ्नै भवन निर्माण गर्ने लक्ष्य बनाएको जिफानले शनिबार पोखरामा सभागृह हलमा ‘जिफान साँझ२०७९’ नाममा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । साँझको मुख्य आकर्षणको रुपमा नृत्य तथा गायन प्रस्तुती रहेको थियो । गुरुङ फिल्ममा आवद्द नयाँ तथा पुराना कलाकारको प्रस्तुतीले हलमा उपस्थित दर्शकको ध्यान खिच्यो ।
यसरी प्रस्तुती राख्नेमा गुरुङ फिल्मका अभिनेताहरु विष्णु गुरुङ, ओम गुरुङ, सोम गुरुङ, सरन गुरुङ, नेत्र गुरुङ, विशाल गुरुङ, भुपेन्द्र गुरुङ, मनाङ गुरुङ, दीप गुरुङ, विश्वआत्मा गुरुङ, विवेक गुरुङ, मनोज गुरुङ, हिरा गुरुङ, साजन गुरुङ, कमल गुरुङ र अमर गुरुङ रहेको आयोजक जिफानले जनाएको छ ।
त्यस्तै नायिकाहरु तारा गुरुङ, खुशी गुरुङ, उर्मिला गुरुङ, अनुता गुरुङ, अनुसा गुरुङ, पवित्रा गुरुङ, अस्मि गुरुङ, आस्था गुरुङ, इना गुरुङ, लक्ष्मी गुरुङ, आकृती गुरुङ, अञ्जु गुरुङ, जुना गुरुङ, रश्मी गुरुङ, काशी घले, मुस्कान गुरुङ, पुनम गुरुङ, सविना गुरुङ, कृष्टि गुरुङ, बन्धना घर्ती मगरको प्रस्तुती दर्शकले रुचाए ।
गायकहरु कृष्ण गुरुङ, दुर्गा गुरुङ, आरके गुरुङ, सरोज गुरुङ, धनबहादुर गुरुङ, गणेश गुरुङ, रामबहादुर गुरुङ, राज बहादुर गुरुङ, दुर्गा गुरुङ, केशबहादुर गुरुङ तथा गायिकाहरु प्रिया गुरुङ, उषा गुरुङ, पवित्रा गुरुङ, रोशन गुरुङ र दुर्गा गुरुङको गायन प्रस्तुतीमा साँझ संगीतमय बन्न पुग्यो । उनीहरुलाई उपस्थित दर्शकले नाँचेर समेत साथ दिए ।
जिफानको कार्यालयको लागि जग्गा खरिद तथा भवन निर्माण सहयोगार्थ कार्यक्रम गरिएको अध्यक्ष गुन्ज बहादुर गुरुङले बताए । ‘स्थापना कालदेखि विभिन्न समस्या र चुनौतीहरुलाई पार गर्दै फिल्म मार्फत देश र समुदायको निम्ति सर्मपित भएको संस्थाले हाल भवन निर्माण योजनालाई अघि सारेको छ’ अध्यक्ष गुरुङले भने । यो अभियानलाई व्यापक प्रचार प्रसार गर्दै सफल बनाउन जिफान साँझको आयोजना गरिएको उनको प्रष्टोक्ति छ । जग्गा खरिद गरेर भवन निर्माण गर्ने आफूहरुको लक्ष्य भएको उनले खुलाए । यो अभियानको सुरुवात उनले आफैले नगद एक लाख रुपैयाँ सहयोग गरेर गरेका छन् ।
त्यसोत गुरुङ फिल्म तथा यसको बजारलाई विस्तार गर्न जिफानले सकारात्मक भुमिका खेलिरहेको छ ।
तमु युवा साँस्कृतिक परिवारको आयोजनामा २०६४ साल पुष ११ गतेका दिन गुरुङ फिल्मकर्मीहरुको राष्ट्रिय भेला पोखरामा आयोजना भएको थियो । सोही भेलाले निर्देशक माओत्से गुरुङको संयोजकत्वमा तमु चलचित्र विकास बोर्ड’ स्थापना गर्ने निर्णय गरेको थियो । गुरुङ फिल्मको उत्थान र प्रवर्दन गर्ने उदेश्य सहित बोर्डको तदर्थ समिति गठन भयो । समितिलाई विधान निर्माण गर्ने, लोगो बनाउने, दर्ता गर्ने र साधारण सभा बोलाउने जिम्मेवारी दिइयो । तदर्थ समितिले संस्था दर्ता गर्न जिल्ला प्रशासन कार्यालय कास्की जाँदा तमु चलचित्र विकास बोर्ड’ नाम अस्विकार गरेपछि नाम परिवर्तन गरियो । सोही तदर्थ समितिले नै गुरुङ फिल्म एसोसिएसन’ नाम राख्यो । भेलाले दिएको म्याण्डेट अनुसार विधान निर्माण, लोगो डिजाइन गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा २०६५ बैशाख २५ गते विधिवत रुपमा संस्था दर्ता भयो । संस्था दर्तासँगै कानुनी मान्यता पाएपछि एसोसिएसनको तदर्थ समितिले मिति २०६५ साउन १ गते पहिलो साधारण सभा तथा अधिवेसन पोखरामा बोलाएको थियो ।
सोही अधिवेसनले तदर्थ समितिका संयोजक माओत्से गुरुङकै अध्यक्षतामा दुई बर्षे कार्यकाल रहने गरी गुरुङ फिल्म एसोसिएसनको पहिलो कार्यसमिति गठन गरेको थियो । त्यसपछि वेद बहादुर गुरुङ श्याम, गिरीप्रसाद गुरुङ र भोजबहादुर गुरुङ नेतृत्वमा पुगे । अहिले जिफानको अध्यक्ष गुन्जबहादुर गुरुङ हुन् ।
यता गुरुङ फिल्मको सुरुवात पाते’ फिल्मबाट भएको हो । गुरुङ जातिको भाषा, संस्कृति र जीवन पद्धतीलाई आधार बनाएर नेपालमा पहिलो पटक २०५२ सालमा यो गुरुङ फिल्म बनेको थियो । रोधी प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मका लेखक प्रितम गुरुङ र निर्देशक युवराज मास्के हुन् ।
यसरी पातेबाट शुरु भएको गुरुङ फिल्मको २७ वर्षको अवधिमा आइपुग्दा १५० भन्दा बढी फिल्म निर्माण भइसकेका छन् । अहिले गुरुङ भाषा र संस्कृतिलाई मात्र केन्विन्दुमा राखेर फिल्म तथा श्रब्य दृश्य सामाग्री उत्पादन गर्ने १५ बढी कम्पनी अहिले क्रियाशिल छन । फिल्म निर्माण तथा प्रदर्शन गर्ने क्रम बढ्दै गएको छ । निर्देशकदेखि प्राविधिक र कलाकारको संख्या पनि बढ्दै गएको छ । संस्थालाई थप व्यवस्थित बनाउदै कार्य गर्नको लागि आफ्नै भवनको आवश्यकता महशुस गरेर भवन निर्माण अभियानमा जिफान जुटेको हो । अहिले गुरुङ फिल्म एशोसिएसन नेपालको कार्यालय पोखराको माटेपानीमा छ ।
जिफानका अध्यक्ष गुञ्जबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव तोल बहादुर गुरुङ (लब्सन)ले गरेका थिए । कार्यक्रम हेर्न गुरुङ फिल्मलाई माया गर्ने दर्शक तथा जिफानमा आवद्ध कलाकार पुगेका थिए । उनीहरुले कलाकारलाई साथ मात्र दिएनन् भवन निमार्ण अभियानमा सहयोग गर्न आफ्नो मन फरकिलो पार्दै सहयोग गरें । यसरी सहयोग गर्नेहरु कार्यक्रममा उपस्थित हुने मात्र थिएनन् । कार्यक्रममा उपस्थित नभएका तथा विदेशमा रहेका गुरुङ फिल्मकर्मीको समेत साथ सर्पोट पाएको कारण जिफान उत्साति बनेको छ । जिफान साँझ मार्फत सहयोग गर्ने सबैलाई तीन महिना पछि पोखरामा अर्को भव्य कार्यक्रम गरेर सम्मान गरिने महासचिव तोल बहादुर गुरुङ (लब्सन)ले जानकारी दिए । कार्यक्रम आयोजना स्थल पोखरा सभागृह हल परिसरमा गुरुङ फिल्मका पोष्टहरुलाई सजाएर राखिएको थियो । यसले समेत तहाँ उपस्थित दर्शकमा रौनकता थपेको थियो ।
