पन्ध्रौँ आइ.ओ. इ. ग्राजुयट सम्मेलन (15th IOEGC) पश्चिमान्चल क्याम्पसमा पाेखरामा सम्पन्न

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमान्चल क्याम्पस, लामाचौर, पोखरामा मिति २०८१ जेष्ठ ४ र ५ गते विभिन्न इञ्जिनियरिङ्ग विधाका स्नातक तथा स्नातकोत्तर तहको नियमित अध्ययन पूरा गरेका विद्यार्थीहरु र विभिन्न शैक्षिक संस्था सम्बद्ध अनुसन्धाताहरुको प्रस्तुतीकरणका साथ पन्ध्रौँ आइ.ओ. इ. ग्राजुयट सम्मेलन सम्पन्न भएको छ। विद्यार्थीहरुका अनुसन्धानमुलक अध्ययन तथा प्रोजेक्टद्वारा उत्पादित तथ्यांक र मोडेलहरुलाई विज्ञहरुको वीचमा प्रस्तुत गरी परिस्कृत गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलहरुमा अनुसन्धानात्मक लेख प्रकाशन गर्ने र व्यवसायिक उत्पादनमा रुपान्तरण गर्ने उद्देश्यका साथ वि. सं. २०७२ देखि अर्धवार्षिक रुपमा इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरुमा पालै पालो आइ.ओ. इ. ग्राजुयट सम्मेलन सम्पन्न हुँदै आएको छ।

पश्चिमान्चल क्याम्पसमा सम्पन्न यस पन्ध्रौँ आइ.ओ. इ. ग्राजुयट सम्मेलनमा पोखरा विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङ्गका प्रध्य्यापक डा. विनय कुमार मिश्र तथा  भारतीय प्राद्योगिकी संस्थान, इन्दोर, भारतका  प्राध्यापक डा. नीलिमा सत्यमले मूल कार्यपत्र (कि नोट पेपर) प्रस्तुत गर्नुभएको थियो। सम्मेलनको समानान्तर सेसन अन्तर्गत  संचालित इन्जिनियरिङ्ग तथा विज्ञान प्रविधिका विभिन्न विधाका ५१ वटा पेपरहरुको प्रस्तुतीकरणमा विद्यार्थी तथा शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो। त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन प्रा. डा. शशीधर राम जोशीको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीले इन्जिनियरिङ्ग अध्ययन संस्थानद्वारा सञ्चालित अनुसन्धानात्मक गतिविधिहरुको प्रसंशा गर्दै अरु संकाय र अध्ययन संस्थानहरुमा पनि नियमित ग्राजुयट सम्मेलनको आवश्यकता रहेको औंल्याउनुभयो।

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थानका स्नातकोत्तर तह अन्तिम सेमेस्टरका विद्यार्थीहरुको  थेसिसका साथ ग्राजुयट सम्मेलन या राष्ट्रिय,अन्तराष्ट्रिय जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेख पनि संलग्न गराउनु पर्ने व्यवस्था गरिएको छ। सम्मेलनको उद्घाटन सत्रमा गण्डकी विश्वविद्यालय, स्कुल अफ साइन्सेसका डिन डा. कपिल अधिकारी, पोखरा विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायका डिन प्रा. राजेश कुमार ठगुराठीले शुभकामना मन्तव्य राख्नुभएको थियो। यस सत्रमा पन्ध्रौँ आइ.ओ. इ. ग्राजुयट सम्मेलनका  संयोजक डा. भिम कुमार दाहालले सम्मेलनको पृष्ठभूमि, उद्देश्य र महत्वमाथि प्रकाश पर्नु भएको थियो।  जयन्ती ठाकुर र अनुराग अधिकारीको उद्घोषणमा पश्चिमान्चल क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. हरि शरण अधिकारीको  स्वागत मन्तव्य पश्चात त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीद्धारा डिजिटल माध्यमबाट समुउद्घाटन भएकाे यस  सत्रमा इन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक डिनहरु प्रा. डा. सुशील बहादुर वज्राचार्य, प्रा. डा. विनोद कुमार भट्टराई, पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख डा. इन्द्र प्रसाद आचार्य, पूर्वान्चल क्याम्पस, धरानका क्याम्पस प्रमुख काजी राम कार्की, थापाथली क्याम्पसका क्याम्पस प्रमुख डा. खेम ज्ञवाली, पश्चिमान्चल क्याम्पस, पोखराका क्याम्पस प्रमुख निर्मल प्रसाद बराल लगायत सम्मेलन तयारीका लागि गठित कार्य समितिका सदस्यहरु, प्रकाशन समितिका संयोजक प्रा. डा. विष्णु प्रसाद पाण्डे तथा प्राविधिक समितिका संयोजक डा.वसन्त जोशी, समितिका सदस्यहरु, पश्चिमान्चल क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु होम नाथ तिवारी र रोशन कुमार श्रेष्ठ  एवं  पोखराका विभिन्न क्याम्पसका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यस सम्मेलनको कि नोट सेसनको सहजकर्ताहरू सह प्रा. डा. कृष्ण राज अधिकारी र प्रा. डा. विष्णु प्रसाद पाण्डे रहनुभएको थियो भने समानान्तर सेसनका अध्यक्षहरुमा सह प्रा. रमेश बाँस्तोला, सह प्रा. भृगु राज भट्टराई, डा. निरज केसी, स्मिता अधिकारी, दीपक थापा, सन्दीप धामी, प्रेम नाथ बास्तोला, डा. दुर्गा बस्ताकोटी र डा. श्रीधर खकुरेल रहनु भएको थियो।  २०८१ जेष्ट ५ गते त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन प्रा. डा. शशीधर राम जोशीको अध्यक्षतामा मन्दाकिनी सापकोटा एवंम् अनुराग अधिकारीद्वारा संचालित समापन समारोहमा पश्चिमान्चल क्याम्पसका क्याम्पस प्रमुख निर्मल प्रसाद बराल र सम्मेलनका संयोजक डा. भिम कुमार दाहालले धन्यवाद ज्ञापन सहितको मन्तव्य राख्नु भएको थियो।

यस समारोहमा इन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक डिन प्रा. डा. सुशील बहादुर वज्राचार्यले अनुसन्धान र पेपर प्रस्तुतीकरणका प्रति विद्यार्थीहरुमा बढ्दै गएको अभिरुचिलाई मध्यनजर गर्दै सहभागिता अभिव्रिद्द्धि गर्दै लैजान इन्जिनियरिङ्ग अध्ययन संस्थानका सबै आंगिक क्याम्पसहरुमा हरेक सेमेस्टर समानान्तर रुपमा आइ.ओ. इ. ग्राजुयट सम्मेलन आयोजना गर्नु पर्ने आवश्यकता आइसकेको बताउनुभयो।  आइ.ओ. इ. ग्राजुयट सम्मेलनको १६ औं शृङखला इन्जिनियरिङ्ग अध्ययन संस्थान, थापाथली क्याम्पसमा सम्पन्न हुने बताइएकाे छ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...