काठमाडौँ, साउन ५ गते । यस वर्षको मनसुनको ३० दिनमा दुई सयभन्दा बढीले बाढीपहिरो, चट्याङ तथा भारी वर्षका घटना वृद्धि भएको देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको मनसुनको ३० दिनको अवस्था प्रतिवेदनअनुसार गत वर्षभन्दा मानवीय क्षति पनि उल्लेख्य वृद्धि भएको पाइएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले यसपालि नेपालले बाढी, पहिरो, चट्याङबाट जनधनको बढी क्षति बेहोरेको बताउनुभयो । प्रतिवेदन अनुसार गत वर्ष यो अवधिमा ती विपद्का चार सय ५१ वटा घटना भएको थियो । यसपालि भने ६ सय ९१ वटा घटना भएको पाइएको छ । जसमा गत वर्ष ४२ जनाको मृत्यु भएकामा यसपालि सो अवधिमा ६९ जनाले ज्यान गुमाएका छन् । गत वर्ष बेपत्ता २५ जना रहेकामा यसवर्ष उक्त अवधिमा तीनजना बेपत्ता रहेका छन् । गत वर्ष ५६ जना घाइते भएकामा यसपालि ८९ जना घाइते भएका जनाइएको छ ।
बाढीबाट गत वर्ष सातजनाको मृत्यु भएकामा यसपालि १५, पहिरोबाट गत वर्ष १७ जनाको मृत्यु भएकामा यसपालि ३५ र चट्याङबाट गत वर्ष १६ जनाको मृत्यु भएकामा यसपालि १९ जनाले ज्यान गुमाएका छन् । भारी वर्षाका कारण गत वर्ष दुईजनाले ज्यान गुमाएकामा यसपालि सो अवधिमा शून्य रहेको छ ।