औद्योगिक व्यापार मेला नयाँ सम्भावनाको खोजी :अध्यक्ष कार्की

पोखरा, माघ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यही माघ १० गतेदेखि सुरु हुने ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रथम आइटी महोत्सवलाई विशुद्ध रुपले प्रवद्र्धनात्मक हुने बताएका छन् ।मेलाको तयारीको क्रममा आयोजना गरिएको बस्तुगत संघ÷संस्थाका प्रतिनिधिहरुसँगको बैठकमा उनले मेला उद्यमशिलता विकासको उद्देश्यले आयोजना गरिएको र त्यसमा व्यापारभन्दा पनि प्रवद्र्धन र नयाँ सम्भावनाका खोजीमात्र गरिने जिकिर गरेका हुन् ।

 
‘संघले नेपालमै पहिलोपटक मेला आयोजना गर्दा जे उद्देश्य बोकेको थियो, अहिले हामी त्यही बिन्दुबाट अगाडि बढ्ने जमर्को गर्दैछौँ,’उनले भने,‘मेलामा सूचना प्रवधि,महिला उद्यमी र उद्योगहरुका उत्पादन प्रदर्शनी हुनेछ,’उनले भने,‘मेला सिक्ने ठाउँ हो,मनोरञ्जन पनि चाहिएला तर अब हामी मनोरञ्जनात्मक गतिविधि कम र प्रवद्र्धनात्मक कार्यक्रम बढी गर्नेछौँ ।’

उनका अनुसार मेला सम्पन्न गर्न ५ सय १ सदस्यीय मूल आयोजक र २७ वटा उपसमितिसहित कार्यसम्पादन समिति गठन भइसकेको छ । समग्र नेपालका औद्योगिक,हस्तकला तथा खाद्य परिकारहरुको प्रदर्शनका निम्ति आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले गण्डकीसहित सातवटै प्रदेश सरकारसँग समन्वय गरिरहेको छ ।

‘मेलामा गण्डकीसहित सातवटै प्रदेशका सरकारसँग त्यहाँका उत्पादनहरु प्रदर्शनको व्यवस्थाका लागि अनुरोध गरेका छौँ,’उनले भने,‘सांस्कृतिक समूह पनि हरेक प्रदेशबाट आउँदै हुनुहुन्छ । हाम्रँे मेला पूर्व मेचीदेखि पश्चिम महाकालीका उत्पादन, संस्कृति र खानाको त्रिवेणी हुनेछ ।’आइटी महोत्सवअन्तर्गत सूचना प्रविधि क्षेत्रका पछिल्ला उत्पादन एवं त्यससँग सम्बन्धित नयाँ जानकारीहरु पस्कने व्यवस्था मिलाइएको पनि उनले बताए ।

बैठकमा बोल्दै संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले उद्घाटनको दिन नजिकिँदै गर्दा आन्तरिक तयारी तीव्र पारिएको बताए । संघका महासचिव शोभा गौतमका अनुसार मेलामा कम्प्यूटर एसोसियसन पोखरा, मोवाइल बितरक संघ एवं पोखरा औद्योगिक क्षेत्र उद्योग संघसँगको सहकार्यमा हुन लागेको मेलालाई सिर्जनशिलतासँग जोड्नका लागि विशेष पहल गरिएको छ ।बैठकमा सहभागी बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुले संघको आयोजनामा हुने मेलालाई हर तरहले सघाउने प्रतिवद्धता जनाएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...