पोखरा, माघ २८ गते ।माछापुच्छे क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै कास्की क्रिकेट क्लब कास्की टी–२० क्रिकेट लिगमा अपराजित यात्रा कायमै राखेको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धामा माछापुच्छे क्रिकेट क्लबले दिएको ८४ रनको लक्ष्यलाई कास्कीले तीन विकेटको क्षतिमा पुरा गर्दै आफनो जितलाई निरन्तरता दियो ।
टस जितेर व्याटिङ गरेको माछापुच्छ«ेले अभिषेक थापाको ३० रनको योगदानमा ८४ रनको योगफल तयार पार्यो । अन्य व्याटरले भने दोहोरो अंकको रनफल तयार पार्न सकेनन् । अनुप पौडेल, विश्वास पराजुली र रोहित चन्दले समान दुई दुई विकेट लिएका थिए ।
८५ रनको लक्ष्य पछ्याएको कास्कीले रोहित चन्दको ४० रनको योगदानमा सहज जित दर्ता गर्यो । अर्जुन कुमालले २४ रन बनाए । अर्जुनले ३ चौका प्रहार गर्दा चन्दले दुई चौका र दुई छक्का प्रहार गरे । रोहित खेलमा प्लयेर अफ दि म्याच घोषित भए ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगिताको सोमबारको दोस्रो खेलमा लेकसाईड क्रिकेट क्लबलाई अरण्यज्योति क्रिकेट क्लबले तीन रनले पराजित गरेको छ । निर्धारित २० ओभरमा अरण्यज्योतिले टस जितेर ९६ रनको सामान्य योगफल तयार पार्यो । प्रविन पौडेल र प्रदिप पौडेलले क्रमश ३४ र ३० रन प्रहार गर्दै इनिङ्सलाई उकास्ने प्रयास गरे । सन्देश शाही, प्रेम गुरुङ र भोला यादवले समान तीन तीन विकेट लिए ।
९७ रनको लक्ष्य पछ्याएको लेकसाईड भने ९३ रनमा समेटिदै निराश बन्न पुग्यो । प्रदीप पेलाले १९ रन बनाए । भोला यदावले १२ र सन्तोष जोशी तथा केशव सुनारले दश दश रन बनाए । मुनेश गुप्ताले तीन विकेट लिए ।