नेपालगन्ज, चैत २ गते । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति बाल सुधारगृहमा बालबन्दीविच झडप हुँदा ६ भन्दा बढी बालबन्दी घाइते भएका छन् । ५० जना जति बालबन्दी प्रहरी नियन्त्रणमा आएका छन् ।
लामो समयको कसरतपछि केहीबेर पहिले मात्र ठुलो संख्यामा बाल सुधारगृहमा पुगेको प्रहरीले सुधारगृहमा छिरेर बालबन्दीलाई नियन्त्रणबाट मुक्त गराउन सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बालसुधार गृहमा प्रवेश गरेर नियन्त्रणमा लिन सफल भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले बताउनुभयो । उहाँले सो क्रममा बालबन्दीहरुको ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन् । ५० भन्दा बढीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । यसअघि बालसुधार गृहलाई नियन्त्रणमा लिएर माथि छतबाट प्रहरीमाथि बालबन्दीहरुले ढुंगा प्रहार गरेर भित्र पस्न दिएका थिएनन् ।
बालसुधार गृहको दोस्रो तल्लामा उनीहरुले आगजनी गरेर केही क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउन त्यहाँ पुगेको दमकललाई समेत भित्र पस्न नदिएको र पटक पटक वार्ताका लागि आह्वान गर्दा पनि नसुनेपछि प्रहरी बलपूर्वक भित्र पसेको र नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले बताउनुभयो ।