आज स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मंगलबार हुँदै छ। देशभरिका आंगिक र सम्बन्धन प्राप्त कलेजमा निर्वाचन हुन लागेको हो। त्रिविअन्तर्गत ६२ आंगिक र एक हजार ५३ सम्बन्धन प्राप्त गरी एक हजार एक सय १५ क्याम्पस सञ्चालनमा रहे पनि निर्वाचन भने आधाभन्दा कममा हुुदैछ ।

विद्यार्थी संगठनहरूबिच विभिन्न निहुँमा उत्पन्न विवादका कारण १६ आंगिक कलेजमा चैत्र ५ गते निर्वाचन नहुने भएको छ भने ४६ आंगिक र सम्बन्धन प्राप्त करिब चार सय कलेजमा मात्र निर्धारित समयमै  आज निर्वाचन हुनेछ।

स्ववियु निर्वाचन प्रक्रियाअन्तर्गत दुई आंगिकसहित ९० कलेजका सभापति सर्वसम्मत चुनिसकिएका छन्। तीमध्ये ४० क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियुबाट सभापति निर्विरोध भएका छन्। २२ क्याम्पसमा माओवादी केन्द्रनिकट क्रान्तिकारी विद्यार्थी संगठनबाट स्ववियु सभापति निर्विरोध निर्वाचित भएका छन्। नेपाली कांग्रेसनिकट नेविसंघका २८ सभापति निर्विरोध भएका छन्।

४७ आंगिक र सम्बन्धन प्राप्त करिब साढे तीन सय बढी क्याम्पस/कलेजमा निर्वाचन प्रक्रिया सुरु भएको छ। ९० क्याम्पस/कलेजमा सर्वसम्मत निर्वाचन सम्पन्न भएको छ।

यता पाेखराका तीन क्याम्पसमा मात्रै निर्वाचन हुने भएकाे छ ।पृथ्वीनारायण, वनबिज्ञान र नर्सिङ क्याम्पसमा निर्वाचन हुने छ ।जनप्रियमा निर्वाचन स्थगित भएकाे छ (समाचारमा अन्यथा भएकाले सच्याएकाे छ।)

 

२२ औं अध्यक्ष बन्न ८ उम्मेदवार

पृथ्वीनारायण क्याम्पसको स्ववियुको २२ औं अध्यक्ष बन्न ८ जनाले आकांक्षा देखाएका छन् । मंगलबार हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघ/संगठन/प्यानल दर्ता भएका छन् ।

स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी)बाट नविन अधिकारी, अखिल (छैठौ)बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरूङ, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल उम्मेदवार छन् । कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेदवार छन् ।

समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियू, प्राज्ञिक विद्यार्थी परिषद नेपाल, अखिल (छैठौ), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेद्वारी दिएको निर्वाचन अधिकृत प्रा.डा रामचन्द्र पोखरेलले जानकारी दिए । पृथ्वीनारायण क्याम्पसमा ९ हजार २ सय ७० मतदाता छन् । मंगलबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...