अहिले संघले ७ वर्ष माथि उमेर समूहका बालबालिकाहरुलाई खेलकुदमा आकर्षण गराउँदै ग्रास रुटबाट खेलाडी उत्पादनका लागि प्रशिक्षण दिँई खेल संस्कारको विकास र विस्तार गर्दै आएको छभने विभिन्न भलिबल प्रतियोगिता गर्दै आएको छ । त्यसैगरि संघले २०७९ सालमा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सफलता पुर्वक सम्पन्न गरिसकेको छभने एनभिए अवार्ड २०८० र गण्डकी प्रदेश भलिबल संघबाट सम्मानित भइसकेको छ ।
त्यस्तै संघले २०६१ सालदेखी म्याग्दीमा धेरै खेलाडी उत्पादन गरिसकेको छ । जसमा राष्ट्रिय खेलाडी कमला पुन, नेपाली टिम कप्तान अरुणा शाही, राष्ट्रिय खेलाडी राजु थकाली, मिलन मल्ल, झमानसिङ परियार, सम्राट भण्डारी, गण्डकी प्रदेश टिमका उपकप्तान सुजन चोखाल, गण्डकी टिम सदस्य पवित्रा बिसी, रेविना घर्ति, मनिसा तिलिजा, अस्मि पुन, रिक्जिना बोटे, काजल छन्त्याल, सजिना बुढाथोकीलगाएतका उत्कृष्ट खेलाडीहरु उत्पादन गरिसकेको छ । त्यसैगरि तेजेन्द्र बानिया, मलिन रोका, कुमार किसान जस्ता प्रशिक्षक उत्पादनसँगै रेफ्रिहरु समेत संघले उत्पादन गरिसकेको छ । यस्ता उत्कृष्ट कार्यले गर्दा नै म्याग्दी जिल्ला भलिबल संघ पोखरा स्पोर्टस् अवार्डबाट सम्मानित हुन लागेको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएको छ ।
नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । त्यस्तै सहारा क्लब पोखरा, टाईगर ग्रुप अफ पोखरा नेपाल, निट डेन्टल केयर प्रालि, सिटीजन फर्निचर, भूतपूर्व खेलाडी मञ्च नेपाल, जिल्ला एथ्लेटिक्स संघ कास्की, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल, बुम¥याङ रेष्टुरेण्ट, एन्फा गण्डकी, पोखरा पिज्जा हाउस, सोल्टी पिउने पानी र यती एयरलाईन्सलगाएत सहयोगी रहने मञ्चले जनाएको छ ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ ।
मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्दछ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा परिचित छ ।