पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वडा कमिटी पोखरा–५ ले सामाजिक उत्तरदायित्व अन्तर्गत मदनमार्गस्थित मदन स्मृति पार्कमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। जबजका प्रतिपादक तथा लोकप्रिय नेता मदन कुमार भण्डारीको स्मृतिमा निर्मित उक्त पार्कमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै वडा कमिटी–५ का अध्यक्ष लक्ष्मण बरालले पार्टीका उच्च कमिटीको निर्देशन पालनासँगै समाजमा देखिने विकृति र विसंगति विरुद्ध खबरदारी गर्दै समाज रुपान्तरणका कार्यमा समेत सक्रिय रहने प्रतिबद्धता जनाए । “जबज भनेको गतिशील रचनात्मक विचार विज्ञान हो, यसलाई जडसूत्रतामा सीमित राख्नु हुँदैन,” उनले भने, “हामीले सरसफाइ कार्यक्रमलाई अभियानको सुरुवातका रूपमा लिएका छौं।”
कार्यक्रममा पारिजात, बेलपत्र लगायत बहुउपयोगी विरुवाहरूको वृक्षारोपणसमेत गरिएको थियो। कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ५ का जनप्रतिनिधि, पार्टीका प्रदेश, जिल्ला र महानगर तहका नेताहरू, विभिन्न पदमा रहेका कार्यकर्ताहरू, सामाजिक व्यक्तित्वहरू, बाराही माविका विद्यार्थी तथा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमले पार्कको सरसफाइ मात्र नभई पार्टीको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता र समाजसेवामा अग्रसर हुने धारणा उजागर गरेको छ।