
पदयात्रा र धार्मिक हिसावले हिमाली क्षेत्रमा पुग्ने पर्यटकको सुरक्षालाई केन्द्रमा राखेर मुस्ताङ स्थित घरपझोङ गाउँपालिकाको आयोजना र होटल संघ पोखरा नेपालको समन्यमा कार्यक्रम भएको हो । खासगरी पछिल्ला वर्षहरुमा नेपालको सिमावर्ती तराई र सँगैका भारतीय शहरबाट पर्यटकहरु एकै दिनमा सिधै मुक्तिनाथको दर्शन गर्न जाने क्रम चलेपछि सरोकारवालाहरुको ध्यानाकर्षण भएको हो ।
समुन्द्र सतहबाट एक सय मिटर हाराहारी उचाईमा रहेको तराई क्षेत्रबाट एकै दिन ३७१० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नकारात्मक कुरा भएको व्यवसायीहरुले चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले यस विषयलाई नीति निर्माण तहबाटै सुधार गर्न गण्डकी प्रदेश सभामा आफूले कुरा उठाउने प्रतिवद्धता सुनाए । अन्नपूर्ण क्षेत्रको मूल पर्यटन भनेको अन्नपूर्ण चक्रीय पदयात्रा मार्गमा आधारित पर्यटन भएको भन्दै उनले यस क्षेत्रका विभिन्न ठाउँमा पर्यटकले देख्ने र बुझ्ने गरी सूचना र सचेतनामुलक सामग्रीको व्यवस्था हुनुपर्ने सुझाव राखे ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालले अव पर्यटकको संख्यालाई भन्दा पनि गुणस्तरलाई ध्यान दिनुपर्ने सुझाव राखे । भारतीय पर्यटक रातारात एकै दिनमा मुक्तिनाथ पुगेर मुस्ताङ र पोखरा दुबै ठाउँमा रात नकाटी फर्कने परिपाटीले सुरक्षा जोखिम बढेको मात्र नभई बसाई अवधि पनि छोटिन पुगेको बताए । यस्तो जोखिम मोल्दा लेक लागेर कतिपय पर्यटकको ज्यान समेत गएको अध्यक्ष सुवेदीले स्मरण गराए ।
होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले पर्यटकलाई राम्रो सूचना प्रदान गरेर उनीहरुको बसाई अवधि लम्ब्याउन सकिने सुझाव राखे । यसका लागि पोखरामा एउटा पूर्वाधारयुक्त सूचनाकेन्द्रको आबश्यकता समेत उनले औंल्याए । पर्यटकको सुरक्षा, वातावरण संरक्षण र पर्यटकको बसाई अवधि लम्ब्याउने जस्ता विषय पर्यटनमा महत्वपूर्ण विषय भएको भनाई उनले राखे ।
होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटकलाई हतारमा उचाईमा पुर्याएर जोखिममा पार्ने प्रवृत्तिलाई निरुत्साहित पार्न केही दिन अघि आफ्नो संस्थाले एक विज्ञप्ति निकाली ध्यानाकर्षण गराएको स्मरण गराए । विषयलाई बाहिर ल्याउँदा समेत सरकारी पक्षबाट गंभिरतापूर्वक नलिइनु दुःखद भएको भनाई उनले राखे ।
आयोजक संस्था घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले छोटो समयमा एकैपटक होचो भूभागबाट २८०० मिटर माथीको उचाईमा पुग्नु जोखिमपूर्ण हुने विषय स्मरण गराए । यो विषय धेरै पर्यटकले समेत थाह नपाएको हुन सक्ने भन्दै उनले पर्यटकलाई आराम गर्दै, समय लिएर न्यानो कपडाका साथ उच्च भूभागमा जानुपर्ने विषय जानकारी गराउनुपर्ने भनाई राखे । समथल ठाउँबाट आउने कतिपय पर्यटकले उचाईमा पनि उस्तै त होला नी भन्ने खालको शोच राख्ने गरेको उनले सुनाए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरियाले पर्यटकको सुरक्षाका लागि एक्याप सचेत रहेको बताए । एक्याप क्षेत्रमा २४५० होटल रहेको तथ्यांक दिंदै उनले त्यस क्षेत्रका व्यवस्थापन समितिसँग मिलेर एक्यापले काम गरिरहेको भनाई राखे । अन्नपूर्ण क्षेत्र साहासिक पर्यटन क्षेत्र भएको भन्दै पर्यटकलाई त्यही अनुसारको तयारी गरेर आउने वातावरणका लागि सरोकारवालाहरु मिलेर काम गर्नुपर्ने सुझाव राखे ।
एक तथ्यांक अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक एकजना नागरिक रहेको तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले बाहिर ल्याएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उक्त जिल्लामा मात्र बि.स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकी नागरिक रहेका छन् । यसरी ज्यान गुमाउनेहरु पनि भारतीय पर्यटककै संख्या बढी रहन गएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पर्यटकको सुरक्षाका लागि सचेनामूलक पुस्तिका वितरण गर्ने र आबश्यक ठाउँमा सूचनामूलक बोर्डहरु राख्दा उपयुक्त हुने सुझाव राख्दै यसका लागि बोर्ड सघाउन तयार रहेको प्रतिवद्धता जनाए । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स्) कार्डको अनिवार्य व्यवस्थाले पर्यटकको सुरक्षा बढ्ने भनाई राखे । नाट्टा गण्डकीका उपाध्यक्ष राजेश पहारीले पर्यटकको सुरक्षाका लागि नीति र नियमन दुबै जरुरी भएको भनाई राखे ।
—