रामप्रसाद खनाल ।आज हामी ३३ औँ मदन–आश्रित स्मृति दिवसको ऐतिहासिक सन्दर्भमा छौँ। २०५० जेठ ३ गते , दासढुङ्गाको त्यो स्तब्धकारी र रहस्यमय जिप दुर्घटनामा परेर नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक जननेता कमरेड मदन भण्डारी र कुशल संगठक कमरेड जीवराज आश्रितलाई गुमाएको आज ३३ वर्ष पूरा भएको छ
यो ऐतिहासिक घडीले हामीलाई उहाँहरूले देखाएको वैचारिक र संगठनात्मक बाटोमा बदलिँदो परिस्थितिमा नयाँ ढंगले, एकताबद्ध र संगठनात्मक सुदृढीकरणका साथ हिँड्ने थप प्रेरणा र सङ्कल्प प्रदान गर्दछ। यो सन्दर्भमा कमरेड मदन भण्डारी र जीवराज आश्रति प्रति श्रद्धा सुमन व्यक्त गर्दछु । यो वेला एमालेले बदलिएको परिस्थिति अनुसार संगठन निर्माण तथा कार्यशैली बदल्नु आजको अपरिहार्य आवश्यकता बनेको छ । यहाँ यसको छोटो चर्चा गर्न खोजिएको छ ।
मानव समाजको विकास र रूपान्तरणका लागि संगठन सबैभन्दा शक्तिशाली हतियार हो। तर संगठन निर्माण केवल भावना, आवेग वा रहरले मात्र सम्भव हुँदैन। यसका लागि ठोस वैचारिक आधार, स्पष्ट मापदण्ड, लक्षित वर्ग र समुदायको पहिचान, तथा संगठकहरूको योग्यता, क्षमता र स्तरको सही निर्धारण हुनु अनिवार्य छ।
भावनाले संगठनमा मानिसहरूलाई क्षणिक रूपमा आकर्षित त गर्न सक्छ, तर त्यसलाई टिकाउन र आन्दोलनको रूप दिन विचार र विधिको ठोस जग चाहिन्छ। आजको विशिष्ट र तीव्र गतिमा बदलिरहेको परिस्थितिमा हाम्रो गौरवशाली पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई नेपाली क्रान्तिको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गरिरहन संगठनात्मक क्षेत्रमा नवीन ऊर्जा र स्पष्ट दृष्टिकोणको खाँचो छ। हामीले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा संगठन निर्माण र परिचालनको परम्परागत ढाँचालाई परिमार्जन गर्नु आवश्यक भइसकेको छ।
हाम्रो संगठन निर्माणको पहिलो र मुख्य सर्त वैचारिक स्पष्टता हो। मार्क्सवाद-लेनिनवादको सार्वजनिक सत्य र यसलाई नेपाली धरातलमा सिर्जनात्मक प्रयोग गर्दै जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद नै हाम्रो संगठनको प्राण हो। लेनिनले भन्नुहुन्छ – “क्रान्तिकारी सिद्धान्तविना कुनै पनि क्रान्तिकारी आन्दोलन सम्भव छैन।” लेनिनको यो भनाइले संगठनमा विचारको महत्वलाई स्थापित गर्दछ। विचारविहीन संगठन केवल भीड मात्र हो, जसले सही दिशा लिन सक्दैन। त्यस्तै जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादको व्याख्या गर्दै भन्नुभएकोछ,– ” पार्टीका गुण, अवगुणहरू नेता, कार्यकर्ता र सदस्यका गुण अवगुणहरू जनताको मूल्यांकनको विषय बनाइनुपर्छ ।
रहस्मय कथाका अलौकिक पात्रजस्तो बनाइनु हुँदैन। पार्टीले माथिबाट नियुक्त गरिदिएको होइन, वर्गसंघर्षमा आफ्नो विश्वासयोग्य अगुवाको रूपमा स्वयम् जनताद्वारा समेत स्वीकार गरिएका नेताहरू रहेको पार्टीको रूपमा पार्टीपङ्क्तिलाई तयार गर्न ध्यान दिनुपर्छ । पार्टीलाई व्यापक जनतामा आधारित बनाउनुपर्छ । कार्यकर्ता पङ्क्तिभित्र मात्र सीमित बनाइनु हुँदैन ।” अझ थप जोड दिदै भन्नुहुन्छ – ” कम्युनिष्ट पार्टी निश्चित विधिहरूबीच अन्तरसम्बन्ध रहेको शृङ्खलाबद्ध कमिटी प्रणालीमा आधारित रहेर सञ्चालित हुन्छ । केन्द्र आम जनताबिच सीधा सम्पर्कमा रहे पनि त्यसले कमिटी प्रणालीलाई विस्थापन गर्न पाउँदैन । केन्द्रीकृत नेतृत्व र निर्देशनको आधारमा अधिकार प्रत्यायोजन रहेको विकेन्द्रित जिम्मेवारीको प्रणाली हुन्छ ।
कुनै पनि बुर्जुवा पार्टीहरूमा भन्दा कम्युनिष्ट पार्टीको भिन्नताका मूल विषयहरू यिनै हुन् । प्रतिस्पर्धाको प्रणाली पार्टीको बाध्यता होइन, रोजाइ हो । त्यसकारण पार्टीलाई तोकिएको मापदण्डका आधारमा निश्चित तरिकाबाट व्यापक बनाउनुपर्छ । व्यापक जनतामा आधारित बनाउनुपर्छ । ” तसर्थ, हाम्रो संगठन मार्क्सवादी विचारले सुसज्जित र जबजको मर्म अनुसार आन्तरिक लोकतन्त्रले क्रियाशील हुनुपर्छ। पार्टी सदस्यता वितरणदेखि कमिटी गठनसम्मका प्रक्रियामा वैचारिक शुद्धीकरण र राजनीतिक सचेतनालाई प्राथमिकता दिनु आजको आवश्यकता हो।
हालै मात्र ,२०८२ फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजय हाम्रा लागि अप्रत्याशित रहे पनि यो एउटा गम्भीर आत्मसमीक्षाको घडी हो। चुनावी नतिजाको थोरै समीक्षा गर्दा के देखिन्छ भने, हामीले राष्ट्रिय राजनीतिमा सही एजेन्डा उठाए सरकारको नेतृत्व गर्दा गरेका ऐतिहासिक कामहरु पनि संगठनात्मक रूपमा त्यसलाई भुइँतहका जनतासम्म बुझाउन सकेनौँ।
संगठन निर्माणमा आएको शिथिलता, जनताका तत्कालीन समस्याहरूबाट पार्टी कमिटीहरूको दूरी र नयाँ मतदाता एवं युवा पुस्ताको बदलिँदो मनोविज्ञानलाई समयमै पक्रन नसक्नु नै पराजयका मुख्य कारण हुन्। निर्वाचनमा प्राप्त मतपरिणामले हामीलाई क्रान्तिकारी रूपान्तरणको कठोर पाठ सिकाएको छ। पराजय निराश हुने छुट हामीलाई छैन, बरु यसलाई संगठनभित्रका कमजोरीहरू पहिचान गर्ने र ऐतिहासिक कमब्याकका लागि शक्ति सञ्चय गर्ने एउटा महत्त्वपूर्ण अवसरका रूपमा लिनु आवश्यक छ। अबको बाटो भनेकै निर्वाचनका कमजोरीहरूको निर्मम समीक्षा गर्दै, जनतासँग टुटेको सम्बधलाई फेरि जोड्नु र संगठनलाई जगैदेखि पुनर्गठन गर्नु हो।
चुनावी पराजय र बदलिँदो राष्ट्रिय राजनीतिको सन्दर्भमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता झन् बढेर गएको छ। जबज केवल एउटा शान्तिपूर्ण सडक वा संसदीय मोर्चाको नीति मात्र होइन, बरु यो त जनताको मन जितेर श्रेष्ठता हासिल गर्ने विचार हो। निर्वाचनमा पराजय भोग्नुको अर्थ विचारको असान्दर्भिकता होइन, बरु विचार अनुरूप संगठन सञ्चालन गर्न नसक्नुको परिणाम हो। जबजले मार्गनिर्देश गरे जस्तै शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धामा श्रेष्ठता कायम गर्नका लागि जनताको विश्वास जित्नुपर्छ र त्यसका लागि संगठन सजीव हुनुपर्छ। जबजको सिद्धान्तले स्पष्ट रूपमा भन्छ कि कम्युनिष्ट पार्टीले समाजमा आफ्नो नेतृत्व बलजफ्ती होइन, जनअनुमोदित भएर स्थापित गर्नुपर्छ। त्यसैले, आजको दक्षिणपन्थी अवसरवाद र अराजकतावादी लहरलाई वैचारिक रूपमा परास्त गर्न जबजको मार्गदर्शनमा आधारित सुदृढ देशभक्त र जनपक्षीय शक्ति निर्माण गर्नुको विकल्प छैन।
यस सन्दर्भमा जबजको मार्गदर्शनमा हाम्रा जनवर्गीय संगठनहरूको परिचालनको पाटो झनै महत्त्वपूर्ण बन्न पुगेछ। जबजको वैचारिक राजनीतिक लाइन अनुसार जनवर्गीय संगठनहरू पार्टीका हातगोडा र जनतासँग जोडिने पुल हुन्। जनवर्गीय संगठनहरू पार्टी भित्रको आन्तरिक जीवनका गुटबन्दीका भरिया होइनन्, बरु आ-आफ्नो क्षेत्रमा स्वायत्त, क्रियाशील र लोकप्रिय संस्था हुनुपर्छ भन्ने जबजको मान्यता छ।
विद्यार्थी, युवा, महिला, किसान, र मजदुर जस्ता संगठनहरूले आ-आफ्नो वर्गको मुद्दालाई उठान गर्दै आम जनसमुदायलाई पार्टीको मूल प्रवाहसँग जोड्नुपर्दछ। निर्वाचनमा देखिएको कमजोरी सच्याउन जनवर्गीय संगठनहरूलाई परम्परागत र औपचारिक बैठकहरूबाट बाहिर निकालेर रचनात्मक रूपमा परिचालन गर्नुपर्छ। जबजको मर्म अनुरुप जनवर्गीय संगठनहरूले समाजका प्रत्येक वर्गको हित रक्षा गर्दै उनीहरूको सुख-दुःखमा पहरेदारको भूमिका निर्वाह गर्न सके मात्र पार्टीको संगठनात्मक आधार पुनः बलियो बन्न सक्छ।
तर विडम्बनापूर्ण कुरा के छ भने, वर्तमान नेपाल सरकारले पेसागत संगठन, ट्रेड युनियन तथा विद्यार्थी संगठनहरूमाथि निरंकुश र अलोकतान्त्रिक ढंगले प्रतिबन्ध लगाउने काम गरेको छ। अधिकार प्राप्तिका लागि लामो राजनीतिक संघर्ष र आन्दोलनबाट स्थापित भएका यी संगठनहरूमाथिको प्रतिबन्ध नागरिकको मौलिक हक र लोकतान्त्रिक मूल्य-मान्यतामाथिको सिधै प्रहार हो। सरकारको यो कदम श्रमजीवी वर्ग, बौद्धिक जमात र परिवर्तनकारी विद्यार्थी शक्तिको आवाजलाई दबाउने अधिनायकवादी मानसिकताको उपज हो। यस्तो प्रतिकूल समयमा हाम्रो पार्टीले सरकारको यस सर्वसत्तावादी कदमको कडा प्रतिवाद गर्दै प्रतिबन्धका विरुद्धमा सशक्त संगठनात्मक र कानुनी मोर्चा निर्माण गर्नुपर्छ। प्रतिबन्धले संगठनहरू सकिने होइनन्, झन् नयाँ कार्यशैलीका आधारमा जुझारु बन्नुपर्छ । हाम्रा पेसागत तथा विद्यार्थी संगठनहरूलाई आम जनता र पेसाकर्मीको अधिकार रक्षाका लागि झन् जुझारु रूपमा परिचालन गर्नु आजको अनिवार्य आवश्यकता भएको छ।
खासगरी, जबज र लेनिनवादी जनवादी केन्द्रीयताको मार्गदर्शनमा पार्टीभित्रको आन्तरिक जनवाद र अनुशासनको सन्तुलन मिलाउनु आजको सबैभन्दा अहम् विषय हो। आन्तरिक जनवाद बिनाको अनुशासनले पार्टीलाई गतिहीन र मरेतुल्य बनाउँछ भने अनुशासन बिनाको जनवादले अराजकता निम्त्याउँछ। जबजले पार्टीभित्र मतभेदहरूको सम्मान, व्यापक छलफल, बहस र आलोचना-आलोचनाको स्वतन्त्रता अर्थात् बलियो आन्तरिक जनवादको वकालत गर्दछ। प्रत्येक कार्यकर्ताले आफ्नो मत कमिटीमा राख्न पाउने अधिकारको रक्षा हुनुपर्छ। तर एकपटक व्यापक जनवादी छलफलपछि कमिटीले निर्णय गरिसकेपछि त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नु प्रत्येक सदस्यको अनिवार्य कर्तव्य र अनुशासन हो। जनवादी केन्द्रीयताको यही मर्मलाई आत्मसाथ गर्दै हामीने पार्टीभित्र स्वस्थ बहसलाई प्रश्रय दिनुपर्छ र निर्णय भइसकेपछि पार्टी हित विपरीत बाहिर जथाभाबी बोल्ने वा अन्तरघात गर्ने प्रवृत्तिलाई कठोर अनुशासनको दायरामा ल्याउनुपर्छ। पार्टीलाई जीवन्त राख्न आन्तरिक जनवाद र बलियो कम्युनिष्ट अनुशासनलाई एकैसाथ अगाडि बढाउनु नै आजको मुख्य आवश्यकता हो।
संगठनलाई बलियो र मर्यादित बनाउन निश्चित मापदण्ड र कठोर अनुशासनको जग चाहिन्छ। लेनिनवादी संगठनात्मक सिद्धान्तको खम्बा मानिने जनवादी केन्द्रीयताको मर्म आज पनि उत्तिकै सान्दर्भिक छ।
लेनिनले संगठनको सुदृढिकरणका लागि जोड दिँदै भन्नुभएको थियो, “सर्वहारा वर्गको शक्ति विचारको एकता र संगठनको भौतिक एकताद्वारा मात्र प्राप्त हुन्छ।” यसको अर्थ हो, संगठनभित्र विधिको शासन हुनुपर्छ, जहाँ व्यक्ति कमिटीको मातहत र कमिटी निर्णयको मातहत रहन्छ। बदलिँदो परिस्थितिमा हामीले नेतृत्व चयनदेखि जिम्मेवारी बाँडफाँडसम्म योग्यता , क्षमता , आन्दोलन प्रति त्याग तथा समर्पण र निरन्तरताको आधारमा “सही ठाउँमा सही व्यक्ति” को वैज्ञानिक मापदण्ड लागू गर्नुपर्छ। कार्यकर्ता र नेताको मूल्यांकन उनीहरूको भाषण वा निकटताका आधारमा होइन, बरु आन्दोलनमा उनीहरूको योगदान, जनतासँगको सम्बन्ध र नैतिक आचरणका आधारमा गरिनुपर्छ। संगठनभित्र मौलाउने गुटबन्दी, व्यक्तिवाद र अनुशासनहीनतालाई निरुत्साहित गर्दै पार्टीको विधान र पद्धतिलाई सर्वोपरि मान्ने संस्कृतिको विकास गर्नु आजको अनिवार्य सर्त हो।
कम्युनिष्ट पार्टी श्रमजीवी वर्गको प्रतिनिधि संस्था हो। त्यसैले संगठन निर्माण गर्दा लक्षित वर्ग र समुदायको पहिचान र उनीहरूसँगको सम्बन्धलाई केन्द्रमा राख्नुपर्छ। समाजको वर्ग संरचनामा आउने फेरबदलसँगै हाम्रा लक्षित वर्गहरू पनि परिमार्जित भएका छन्।हिजोको परम्परागत मजदुर र किसानको परिभाषा आज फेरिएको छ।
सूचना प्रविधिको विकाससँगै नयाँ प्रकृतिका श्रमजीवी वर्ग, बौद्धिक पेसाकर्मी, स्वरोजगार नागरिक, र प्रविधिसँग जोडिएको विशाल युवा पुस्ता उदाएको छ। जनताको बहुदलीय जनवादले समाजका सबै उत्पीडित वर्ग, महिला, दलित, जनजाति र सीमान्तकृत समुदायको हक अधिकारलाई संगठनमार्फत मुखरित गर्ने लक्ष्य राख्दछ। यदि संगठनले यी भुइँतहका वर्गका आकांक्षालाई समेट्न सकेन भने पार्टी जनताबाट टाढिदै जान्छ। तसर्थ संगठनको परिचालन सामाजिक रूपान्तरणका मुद्दाहरू र जनताको दैनिक जीविकासँग जोडिनु आवश्यक छ ।
कुनै पनि संगठन कति गतिशील हुन्छ भन्ने कुरा त्यसका संगठकहरूको योग्यता, क्षमता र स्तरमा निर्भर गर्दछ। आजको जटिल परिस्थितिमा कम्युनिष्ट संगठक पुरानो ढर्राको भएर पुग्दैन। ऊ वैचारिक रूपमा स्पष्ट, प्रविधि मैत्री र जनताको सुख-दुःखको सारथि बन्न सक्ने बहुमुखी प्रतिभाको धनी हुनुपर्छ। लेनिनले संगठकहरूको भूमिकाबारे भन्नुहुन्छ – “हामीलाई यस्ता मानिसहरूको संगठन चाहिन्छ जसले आफ्नो सम्पूर्ण जीवन क्रान्तिका लागि समर्पित गर्छन् र जो संगठन सञ्चालन कलामा निपुण छन्।”
वर्तमान सन्दर्भमा संगठन सञ्चालनको कला भन्नाले जनताको भाषा बोल्ने, सामाजिक सञ्जाल र आधुनिक प्रविधिको सही उपयोग गरी विरोधीका भ्रमहरू चिर्ने, पार्टीले गरेका काम तथा उपलब्धिहरुलालाई जनताको बिचमा लैजाने र समाजमा पार्टीको स्थापित छवि निर्माण गर्ने क्षमता हो। संगठकहरूमा गफ गर्ने भन्दा पनि परिणाममुखी काम गर्ने, संकटको समयमा सही निर्णय लिने र कार्यकर्तालाई गोलबन्द गर्ने संगठनात्मक कौशल हुनुपर्छ।
निष्कर्षमा,
बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र प्रविधिको तीव्र विकासले हाम्रा सामु अभूतपूर्व चुनौती र अवसर दुवै थपिदिएको छ। भावनाको क्षणिक लहरमा बगेर होइन, मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको कसीमा घोटिएर मात्र एमालेको संगठनलाई पुनर्जीवन दिन सकिन्छ। निश्चित मापदण्डका आधारमा क्षमता अनुसारको जिम्मेवारी सम्हाल्दै, नयाँ पुस्ता र श्रमजीवी वर्गको मन जित्दै, पार्टीभित्र आन्तरिक जनवाद र कम्युनिष्ट अनुशासनको कडा पालना गरी एमालेको संगठन निर्माणमा जुट्नु आजको मुख्य कार्यभार हो।
विचारमा स्पष्टता, संगठनमा अनुशासन र जनतासँगको प्रगाढ सम्बन्धले नै ” समृद्ध नेपाल : सुखी नेपाली ” को राष्ट्रिय लक्ष्य पूरा गर्ने सामर्थ्य राख्दछ। यो सबै मर्मलाई आत्मसाथ गर्दै पार्टीका हरेक तह र तप्काका कार्यकर्ता संगठनात्मक सुदृढीकरणको महाअभियानमा होमिनु आजको ऐतिहासिक आवश्यकता हो।