पोखरा, १८ जेठ । मिलेनियम ट्रेक व्यवस्थापन समितिले राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेललाई ‘मिलेनियम ट्रेक अवार्ड’ प्रदान गर्ने भएको छ।

समाचार सम्प्रेषणमार्फत नेपालको पहिलो मध्यपहाडी पदमार्ग ‘मिलेनियम ट्रेक’को प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै आगामी जेठ २३ गते काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा पौडेललाई उक्त अवार्ड प्रदान गरिने भएको हो।
मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङका अनुसार पौडेललाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित दोसल्ला, सम्मानपत्र तथा अवार्ड प्रदान गरिनेछ। अवार्डका लागि एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको समितिले जनाएको छ।
यसअघि उक्त अवार्डबाट गण्डकी तथा पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष डम्बर केसी सम्मानित भइसकेका छन्।
पौडेल यसअघि पनि राससबाट दुई पटक ‘वर्ष उत्कृष्ट आलेख पुरस्कार’ प्राप्त गरिसकेका छन्। पत्रकारितामार्फत समाज तथा पर्यटन क्षेत्रमा पुर्याएको योगदानका लागि उनले विभिन्न संघसंस्था तथा निकायबाट सम्मान र पुरस्कार प्राप्त गरेका छन्।
उनी पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ऋषिशिला पत्रकारिता पुरस्कार, गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) गण्डकी प्रदेशको पत्रकारिता सम्मान, पर्यटन यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको पत्रकार सम्मान, चन्द्रागिरि पत्रकार सम्मान, अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार, गाउँ पर्यटन पत्रकारिता पुरस्कार, लेखनाथ पत्रकारिता पुरस्कार तथा संरक्षण पत्रकारिता पुरस्कारलगायतका सम्मानबाट सम्मानित भइसकेका छन्।
वि.सं. २०६३ सालदेखि राससमा आबद्ध पौडेलले त्यसअघि जनमन्थन साप्ताहिकमा स्तम्भ लेखन, इभिनिङ टाइम्स साप्ताहिकमा सहसम्पादक तथा स्वर्णिम सन्देश साप्ताहिकमा सम्पादकको जिम्मेवारी निर्वाह गरेका थिए। हाल उनी पोखराका पर्यटनसम्बद्ध संघसंस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्का प्रेस सल्लाहकारसमेत हुन्।
तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछासम्म जोडिने मिलेनियम ट्रेक सन् २००० देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। हिमाली तथा पहाडी भू-दृश्य अवलोकन गर्दै बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यस पदमार्गमा विभिन्न ऐतिहासिक कोट, दरबार तथा गुफाहरू अवलोकन गर्न सकिन्छ।
छ रात सात दिनको अवधिमा पूरा गर्न सकिने यो पदमार्ग चराचुरुङ्गी अवलोकनका लागि समेत आकर्षक गन्तव्य मानिन्छ। यहाँ करिब ३०० प्रजातिका चराचुरुङ्गी पाइने भएकाले प्रकृतिप्रेमी तथा पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ।