नेकपा (एमाले) को नेतृत्व निर्माण र पुस्तान्तरणको द्वन्द्वात्मक आधार

रामप्रसाद खनाल /कम्युनिष्ट पार्टीको नेतृत्व निर्माणको प्रक्रियालाई मार्क्सवादी-लेनिनवादी दर्शन र जनताको बहुदलीय जनवादको आलोकमा हेर्दा यो केवल प्राविधिक पदपूर्तिको विषय मात्र नभएर बैचारिक ,दार्शनिक र राजनीतिक विषय पनि हो। मार्क्सवाद-लेनिनवादको आलोकमा नेतृत्व केवल पद ओगट्ने व्यक्ति वा प्राविधिक संयन्त्र मात्र होइन, यो विचार, वर्ग र आन्दोलनको प्रतिनिधिको रूपमा रहने एउटा जीवन्त प्रक्रिया हो। कम्युनिष्ट आन्दोलनमा नेतृत्व निर्माण र यसको पुस्तान्तरणलाई दार्शनिक, राजनीतिक र नैतिक कसीमा बुझ्नु अनिवार्य हुन्छ। मार्क्सवादी दर्शन, खासगरी द्वन्द्वात्मक भौतिकवादले नेतृत्वलाई समाजको आर्थिक र सामाजिक संरचनाको उपज मान्दछ र यसलाई कुनै अलौकिक वा जन्मजात प्राप्त हुने शक्तिका रूपमा स्विकार्दैन। नेतृत्व त समाजको भौतिक परिस्थितिको उपज हो।

द्वन्द्वात्मक भौतिकवादका अनुसार नेतृत्व कुनै दैवी शक्ति वा वंशानुगत उपहार होइन, यो त वर्ग संघर्ष र सामाजिक आवश्यकताको परिणाम हो। इतिहास निर्माणमा जनताको भूमिका प्रमुख हुन्छ र नेतृत्वले त्यो जनशक्तिलाई सही दिशामा डोऱ्याउने सचेत साधनको काम गर्छ। नेतृत्व निर्माणको पहिलो आधार भनेकै सिद्धान्त र व्यवहारको द्वन्द्वात्मक एकता हो। नेतृत्वमा हुनुपर्ने पहिलो गुण वस्तुगत परिस्थितिको वैज्ञानिक विश्लेषण गर्ने क्षमता हो। लेनिनका अनुसार ” क्रान्तिकारी सिद्धान्त बिना क्रान्तिकारी आन्दोलन सम्भव छैन ।” त्यसैले नेतृत्वको मुख्य दार्शनिक आधार भनेकै सिद्धान्त र व्यवहारबीचको एकरूपता हो। यसले नेतृत्वलाई जडसूत्रवाद र संशोधनवाद दुवैबाट बचाउँछ।

 

 

लेनिनका अनुसार नेतृत्व निर्माणका लागि क्रान्तिकारीहरूको एउटा सुदृढ दस्ता आवश्यक हुन्छ। वहाँले जोड दिद‌ै भन्नुहुन्छ ” नेतृत्व त्यस्तो हुनुपर्छ जसले आफ्नो सम्पूर्ण जीवन क्रान्तिमा समर्पित गरेको होस् र जसको मुख्य काम नै राजनीतिक संघर्ष , सामाजिक रुपान्तरण र जनताको सेवा होस्।” नेतृत्वबारे थप भन्नुहुन्छ “हामीलाई मानिसहरूको यस्तो सङ्गठन दिनुस् जसले देशलाई फेरिदिनेछ। ” यसको अर्थ नेतृत्वसँग स्पष्ट दृष्टिकोण, फलामे अनुशासन र जुझारु कार्यशैली हुनुपर्छ। यस प्रक्रियामा नेतृत्व निर्माणको बैधानिक विधि अत्यन्त महत्त्वपूर्ण हुन्छ। कम्युनिष्ट सङ्गठनमा नेतृत्व जनवादी केन्द्रीयताको वैधानिक जगमा उभिएको हुन्छ। यसको अर्थ पार्टी सदस्यहरूबीचबाट अधिवेशन प्रतिनिधि चयन, अधिवेशनबाट चुनिएर आउने नेतृत्व तथा कमिटी र पार्टीको नीति, सिद्धान्त तथा कार्यक्रम सामूहिक निर्णय प्रक्रियामा सामेल हुने विधि हो। विधानसम्मत पद्धतिले नेतृत्वलाई स्वेच्छाचारी हुनबाट रोक्छ र सङ्गठनभित्र विधि र थितिको स्थापना गर्छ।

 

 

नेपाली क्रान्तिको विशिष्ट सिद्धान्त जनताको बहुदलीय जनवादले नेतृत्व निर्माणमा मौलिक आयाम थपेको छ। परम्परागत कम्युनिष्ट पार्टीहरूमा नेतृत्व निर्माण प्रायजसो मनोनयन वा माथिबाट लादिने प्रवृत्तिको हुने गर्थ्यो, तर मदन भण्डारीद्वारा प्रतिपादित जबजले नेतृत्वको लोकतान्त्रिकरणमा जोड दिन्छ। जबजका अनुसार सरकारको नेतृत्व जनताबाट र पार्टी नेतृत्व कार्यकर्ताको बीचबाट अनुमोदित भएर आउनुपर्छ र यसले नेताकार्यकर्तामा पहलकदमी ,प्रतिस्पर्धा र श्रेष्ठताका आधारमा चयन हुने विधिलाई आत्मसात् गर्दछ। जबजको यो मर्मले नेता , कार्यकर्ता र जनताको बिचको सम्बन्धलाई सुमधुर बनाउँछ । यसको अर्थ यो हो कि नेतृत्वमा पुग्नका लागि व्यक्तिले केवल विचार मात्र दिएर पुग्दैन, उसले बहुदलीय प्रतिस्पर्धाको मैदानमा आफूलाई अब्बल प्रमाणित गर्नुपर्छ। नेतृत्वको राजनीतिक वैधता अब केवल बन्द कोठाको निर्णयबाट होइन, बरु जनमत र कार्यकर्ताको प्रत्यक्ष अभिमतबाट प्राप्त हुन्छ। नेतृत्व केवल पदले होइन, आन्दोलनप्रतिको ज्ञान र चेतनाले स्थापित हुन्छ। यसको अर्थ मार्क्सवाद-लेनिनवादको सैद्धान्तिक ज्ञान मात्र होइन, बरु समाजको वर्ग संरचना, राजनीतिक शक्ति सन्तुलन र परिवर्तनको दिशाबारेको गहिरो बोध हो।

 

 

नेतृत्वसँग आन्दोलनप्रतिको अनुभव, योगदान र समर्पणको कसिलो इतिहास हुन जरुरी छ। जसले वर्ग संघर्षको मैदानमा आफूलाई खारिएको छ, सबैखालका कठिन प्रतिकुल परिस्थितिको अनुभवहरू बटुलेको छ र आन्दोलनका लागि आफ्नो व्यक्तिगत जीवनको महत्त्वपूर्ण हिस्सा त्याग गरेको छ, उही नै वास्तविक नेतृत्व हो। यस सन्दर्भमा नेतृत्वको मर्मलाई स्पष्ट पार्दै माओत्सेतुङ भन्नुहुन्छ ” क्रान्ति कुनै भोजभतेर होइन, यो एउटा यस्तो कार्य हो जहाँ एउटा वर्गले अर्को वर्गलाई उखेलेर फाल्छ, यसका लागि तार्किक दिमाग मात्र होइन, एउटा समर्पित हृदय पनि चाहिन्छ। ” माओको यो भनाइले नेतृत्वमा मस्तिष्क र हृदयको द्वन्द्वात्मक सम्बन्धलाई व्याख्या गर्दछ। तार्किक दिमागले सिद्धान्तको बाटो देखाउँछ भने समर्पित हृदयले त्यो बाटोमा हिँड्ने साहस र ऊर्जा प्रदान गर्छ। समर्पण भनेको व्यक्तिगत सुख-सुविधा र संकुचित स्वार्थलाई त्यागेर सामूहिक मुक्तिका लागि आफूलाई होम्नु हो।

 

 

नेतृत्वको अर्को आधारभूत सर्त निरन्तर अनुशासन हो। मार्क्सवादी नेतृत्व सधैं सङ्गठनको अनुशासन र सर्वहारा वर्गको अनुशासनमा बाँधिएको हुनुपर्छ। अनुशासनबिनाको नेतृत्वले आन्दोलनलाई अराजकतावादतर्फ धकेल्छ। नेतृत्वले सामूहिक रूपमा निर्णय लिने र व्यक्तिगत रूपमा त्यसको जिम्मेवारी पूरा गर्ने संस्कृतिको विकास गर्नुपर्छ। नेतृत्व निरन्तर आलोचना र आत्मालोचनाको कसीमा खरो उत्रिनुपर्छ, जसले उसलाई आफ्ना कमजोरी सुधार्दै जनमुखी बनाइराख्छ। नेतृत्व निर्माणको आफ्नै नियम शृङ्खला हुन्छ र नेतृत्वमा आउनु भनेको एकैपटक माथिल्लो नेतृत्वमा दावा गर्नुपर्ने होइन। पार्टी सदस्य प्राप्त गर्नासाथ नेतृत्वमा दावा गर्नु वा सिधै माथिल्लो नेतृत्व ताक्नु भनेको लेनिनवादी संगठनात्मक सिद्धान्त र क्याडर पोलिसी नबुझ्नु हो। यो त तल्लो कमिटीदेखि काम गर्दै, अनुभव बटुल्दै र आफूलाई प्रमाणित गर्दै शृङ्खलाबद्ध रूपमा विकास हुने प्रक्रिया हो। एक आदर्श कम्युनिष्ट नेतामा वैचारिक स्पष्टताका साथै उच्च नैतिक आचरण हुनु अनिवार्य छ।

 

मार्क्सवाद-लेनिनवादले सर्वहारा नैतिकतालाई प्राथमिकता दिन्छ। जबजको सन्दर्भमा नेतृत्वमा जनताको बहुदलीय जनवादका चौध विशेषताहरूलाई आत्मसात् गर्ने क्षमता हुनुपर्छ। नेतृत्वमा धैर्यता, समावेशी सोच र संकटको समयमा सही निर्णय लिन सक्ने दृढता हुनुपर्छ। साथै आधुनिक युगमा नेतृत्व प्रविधिमैत्री, विज्ञान र विश्व राजनीतिका बदलिँदा आयामहरूसँग सुपरिचित हुनुपर्दछ ताकि उसले पार्टीलाई आधुनिक युगको चुनौती सामना गर्न सक्षम बनाउन सकोस्।

 

नेतृत्व निर्माण एक निरन्तर प्रक्रिया हो र यसको प्रमुख आधार सङ्गठनात्मक प्रणाली हो। जब कुनै सङ्गठनले प्रणालीभन्दा व्यक्तिलाई ठूलो मान्न थाल्छ, त्यहाँ नेतृत्वको संकट सुरु हुन्छ। त्यसैले नेतृत्व निर्माणका लागि पारदर्शी मूल्यांकन प्रणाली र कार्यविभाजनको वैज्ञानिक पद्धति आवश्यक हुन्छ। पुस्तान्तरणको विषय मार्क्सवादी दृष्टिकोणमा पुरानो र नयाँबीचको द्वन्द्वात्मक सम्बन्ध हो। यो केवल उमेरको आधारमा पद हस्तान्तरण गर्ने प्राविधिक कुरा होइन, बरु क्रान्तिकारी निरन्तरताको प्रश्न हो। द्वन्द्वात्मक भौतिकवादले पुरानोको निषेध र नयाँको स्थापनाको नियमलाई मान्छ। यसको अर्थ पुरानो पुस्तालाई अपमान गरेर विस्थापित गर्ने नभई, उनीहरूको अनुभव र ज्ञानलाई जग बनाएर नयाँ पुस्ताको ऊर्जा, प्रविधि र नवीन सोचलाई आत्मसात गर्नु हो।

 

जबजले नेतृत्वको निश्चित कार्यकाल र उमेर हद जस्ता विषयहरूलाई बहसको केन्द्रमा ल्याएको छ, ताकि संगठनमा गतिरोध उत्पन्न नहोस्। नयाँ पुस्तालाई नेतृत्वमा ल्याउँदा उनीहरूमा विचारको उत्तराधिकार, कार्यशैलीको नवीनता र ऐतिहासिक निष्ठा—यी सबैको संगम हुन जरुरी छ। आजको सन्दर्भमा धेरैजसो नेतृत्वमा तार्किक दिमागको बाहुल्यता त देखिन्छ, तर आन्दोलनप्रतिको त्यो समर्पण र त्यागको भावना क्रमशः ह्रास हुँदै गएको चुनौती पनि छ।

 

अन्तयमा ,
कम्युनिष्ट पार्टीको नेतृत्व निर्माण मार्क्सवाद-लेनिनवादको वैज्ञानिक जगमा उभिएर जबजको लोकतान्त्रिक र प्रतिस्पर्धी बाटोबाट अगाडि बढ्नुपर्छ। नेतृत्व केवल आदेश दिने अधिकारी होइन, बरु सिद्धान्त, त्याग, ज्ञान, अनुभव र जनसेवाको जीवित नमुना हुनुपर्छ। जबसम्म नेतृत्वले आफूलाई निरन्तर रूपान्तरण गर्दै नयाँ पुस्ताको भावना र बदलिँदो विश्व परिस्थितिअनुसार साङ्गठनिक पद्धतिभित्र रहेर अगाडि बढाउँछ, तबसम्म पार्टी र आन्दोलन सधैं जीवित र उर्जावान् रहिरहनेछ। नयाँ पुस्तामा क्रान्तिकारी भावनाको सञ्चार गर्दै पुरानाको अनुभवलाई मार्गदर्शकका रूपमा ग्रहण गर्नु नै आजको कम्युनिष्ट आन्दोलनको प्रमुख कार्यभार हो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...