विदेशमा बस्ने नेपालीहरुका नाम खुला पत्र

आदरणीय विदेशमा श्रम, पसिना र संघर्ष गरिरहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,

रोजगारी, भविष्य र पारिवारिक दायित्वका कारण मातृभूमिबाट टाढा रहनु परेको तपाईंहरूको पीडा, संघर्ष र त्यागप्रति म हार्दिक सम्मान व्यक्त गर्दछु।

विदेशको माटोमा पसिना बगाउँदै गर्दा पनि तपाईंहरूको मन, भावना र पहिचान सधैं नेपालमै गाँसिएको छ भन्ने कुरा हामी सबैलाई थाहा छ। तर आजको समय भ्रम, स्टन्टड, एल्गोरिदम र फेक न्युजले समाजलाई दिशाहीन बनाउने खतरनाक मोडमा पुगेको छ। सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचना, उत्तेजक भाषण र सतही लोकप्रियताका पछाडि लाग्दा हामी अन्जानमै आफ्नो राष्ट्र, राष्ट्रियता र भावी पुस्ताको भविष्यप्रति अन्याय गरिरहेका हुन्छौं।

त्यसैले सत्य, विवेक र जिम्मेवारीका साथ सूचना बुझ्ने र साझा गर्ने बानी आजको सबैभन्दा ठूलो राष्ट्रसेवा हो। विदेशमा बसेर पनि तपाईंहरूले रेमिटेन्स मात्र होइन, विचार, चेतना र सही मार्गदर्शन पनि देशलाई दिन सक्नुहुन्छ। राष्ट्र, राष्ट्रियता, सुखी नेपाली र समृद्ध नेपालको पक्षमा उभिनु आज कुनै दल वा व्यक्तिको समर्थन होइन—यो त आफ्नो अस्तित्व, पहिचान र भविष्यको संरक्षण हो।

आज विश्वका विभिन्न देशहरू—बङ्गलादेश, श्रीलंका, युक्रेन र पछिल्लो चरणमा भेनेजुयलाको अवस्थाबाट हामीले गम्भीर पाठ सिक्नुपर्छ। नेपाललाई असफल राष्ट्रको दिशामा धकेल्ने देशी–विदेशी डिजाइनहरू सक्रिय छन्।

कुनै स्पष्ट अल्पकालीन वा दीर्घकालीन सोच र सिद्धान्त नभएका व्यक्तिहरूलाई प्रयोग गरी भ्रामक समाचार उत्पादन गरेर जनमत कब्जा गर्ने प्रयास भइरहेको छ, र जानेर वा नजानेर हामी त्यसको सिकार बन्दै गइरहेका छौं।

त्यसैले तथ्यपरक धरातलमा उभिएर मसिनो गरी विश्लेषण गरौं। हामी जहाँ छौं, त्यहींबाट असल प्रयत्न गरौं।

आज केही नेपालीहरू भ्रम, स्टन्ट, एल्गोरिदम र फेक न्युजको पछि लागेर अरूले लेखिदिएको स्क्रिप्ट पढिरहेका छन्, अरूको स्वार्थको युद्ध लडिरहेका छन्, आफ्नै देशलाई प्रयोगशाला बनाउने बाटोमा उभिरहेका छन्। इतिहास साक्षी छ—जो अरूको युद्धमा मोहरा बन्छ, ऊ अन्ततः खरानी हुन्छ।

युक्रेनले ताली पायो, तर शान्ति गुमायो। नेतृत्वले ट्रेन्ड जित्यो, तर देश उजाड बन्यो।सोसल मिडियामा भाइरल हुने हरेक कुरा सत्य हुँदैन। ठूलो स्वर राष्ट्रवाद होइन।

गाली, घृणा र उत्तेजना क्रान्ति होइन।एल्गोरिदमले देखाएको सत्य, राष्ट्रको सत्य हुँदैन।विदेशमा बसेर तपाईंहरू सुरक्षित हुनुहोला, तर सम्झनुस्—देश जल्यो भने पासपोर्टले बचाउँदैन,पहिचानले साथ छोड्छ।

आज नेपाललाई युद्ध होइन, विवेक चाहिएको छ।भीड होइन, दूरदृष्टि चाहिएको छ। बाहिरको एजेन्डा होइन,आफ्नै माटो सुहाउने सोच चाहिएको छ।हामीलाई युक्रेन बन्नु छैन।हामीलाई अरूको प्रयोगशाला बन्नु छैन। हामीलाई आफ्नै भविष्य आफैं लेख्नुछ।

त्यसैले आग्रह होइन—आह्वान गर्छु:भ्रमको होइन, सत्यको पक्षमा उभिनुस्। घृणाको होइन, राष्ट्रको पक्षमा उभिनुस्।एल्गोरिदमले होइन, इतिहासले गर्व गर्ने बाटो रोज्नुस्।

अन्त्यमा, यो देशको पीडाबाट निस्केको एक पंक्ति—“नेपाली हामी रहुला कहाँ, नेपालै नरहे।”वीर सहिदहरूप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली।

  अर्जुन क्षेत्री
वडा सदस्य, पोखरा महानगरपालिका–२३

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...