पोखरा, जेठ ६ । नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरिएको छ।
आयोजक संस्था द हिडन ट्रेजरले यस संस्थाले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मिस नेपाल प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो ।
तथा विदेशमा बसोबास गर्ने इच्छुक युवतीहरूलाई प्रतियोगितामा सहभागी हुन आवेदन दिन आह्वान गरेको हो। आवेदन दिने अन्तिम मिति जेठ २५ गते (जुन ८, २०२६) तोकिएको छ।

आयोजकका अनुसार मिस नेपाल २०२६ को ग्राण्ड फिनाले साउन १६ गते (अगस्ट १, २०२६) काठमाडौँस्थित पुल्चोकको द प्लाजामा आयोजना हुनेछ। कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।
मिस नेपालमार्फत अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालले निरन्तर सहभागिता जनाउँदै आएको छ। हालै विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिनिधिहरूले उल्लेखनीय प्रदर्शन गर्दै देशको प्रतिष्ठा बढाएको आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि सहभागीको न्यूनतम उचाइ ५ फिट ३ इन्च तथा उमेर १८ देखि २७ वर्षबीच हुनुपर्ने मापदण्ड तोकिएको छ। आवेदक नेपाली नागरिक हुनुपर्नेछ भने विदेशमा बसोबास गर्ने नेपालीहरूले गृह मन्त्रालयबाट जारी एनआरएन कार्डसहित आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया निःशुल्क रहेको छ।
यस वर्ष प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल गरी तीन विजेता चयन गरिनेछ।
द हिडन ट्रेजरले कञ्जनजंगा ग्रुप अफ कम्पनीजलाई मुख्य प्रायोजक तथा नटराज ज्वेलर्सलाई सह–प्रायोजकका रूपमा स्वागत गरेको जनाएको छ। प्रतियोगिताको तयारीस्वरूप बिर्तामोड, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज र जनकपुरमा अडिसन सञ्चालन गरिनेछ। साथै, काठमाडौंमा पनि विशेष मिस नेपाल एक्टिभेसन अभियान सञ्चालन गरिने आयोजकले जनाएको छ।
छनोट भएका प्रतिस्पर्धीहरूले ग्राण्ड फिनालेअघि आवश्यक प्रशिक्षण तथा ग्रुमिङ प्राप्त गर्नेछन्। थप जानकारी तथा आवेदनका लागि मिस नेपालको आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।