एमाले वडा कमिटी–५ पोखराको नवनिर्मित भवन उद्घाटन

 

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा कमिटी–५ को नवनिर्मित भवन एक समारोहबीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन पार्टी केन्द्रीय कमिटी सदस्य एवम् गण्डकी प्रदेशसभाका पूर्व सदस्य राजिव पहारीले गर्नुभयो ।

 

वडा नं. ५ मालेपाटनमा बनेको भवनले पार्टी कार्यलाई व्यवस्थित र चुस्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उहाँले वडा कमिटीको कार्यप्रति प्रशंसा गर्नुभयो ।

नवनिर्मित भवन उद्घाटनसँगै तीज विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो । अनेमसङ्घ वडा कमिटी–५ का अध्यक्ष बिन्दु पौडेलले तीजलाई महिलाको सशक्तीकरण र मौलिक संस्कृतिको जगेर्नासँग जोडेर मनाउनुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य देवका पहारी, एमाले प्रदेश कमिटी सदस्य उमा कोइराला, जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य, वडा अध्यक्ष विष्णुप्रसाद बराल, पूर्व वडा अध्यक्ष धनबहादुर नेपाली, जिल्ला उपाध्यक्ष भेषराज बराललगायतका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

वडा कमिटी अध्यक्ष लक्ष्मण बरालले भवन निर्माणमा करिब १७ लाख रुपैयाँ खर्च भएको उल्लेख गर्दै सो भवन कार्यकर्ताको आस्था र सम्मानको प्रतीक हुने बताउनुभयो । उहाँले प्रविधिमैत्री कार्यालय निर्माण र सामाजिक सञ्जालमार्फत जनप्रतिनिधि तथा पार्टीका कार्यहरूको प्रचार–प्रसार गर्ने थलोको रूपमा प्रयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै, हरितालिका तीजले समाजमा विद्यमान विभेद अन्त्य गर्दै समतामूलक समाज निर्माणमा प्रेरणा मिलोस् भन्ने शुभकामना पनि दिनुभयो ।

 

करिब दुई आना क्षेत्रफलमा बनेको दुईतले भवन आईरन ढलान प्रयोग गरेर निर्मित भएको वडा कमिटी सदस्य प्रदिप सुबेदीले जानकारी दिनुभयो ।

 

सो अवसरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. भरतबहादुर खत्री तथा भवन निर्माणमा योगदान पुर्‍याउने जीवन लामालाई सम्मान गरिएको थियो ।

 

कार्यक्रम वडा कमिटी अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पानप्रसाद तिमिल्सिनाले दिनुभयो भने सञ्चालन सचिव बसन्तराज गौतमले गर्नुभएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...