आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न एमालेकाे आग्रह 

पोखरा, भदौ २७ गते — हालै केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले विज्ञप्ति जारी गरेको छ। पार्टीले युवाहरूको योगदान र आन्दोलनमा सहभागीहरूको भावना प्रति सम्मान व्यक्त गर्दै आन्दोलनका नाममा तोडफोड तथा आगजनीजस्ता गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “आन्दोलनको क्रममा घुसपैठ भएका व्यक्तिले गराएका देशविरोधी कार्य, सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी, निजी सम्पत्ति र नेकपा (एमाले) का कार्यालयहरूमा आक्रमणजस्ता कार्यले हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ।”

पार्टीले हालको संविधान र राजनीतिक व्यवस्थाबाट समाधान खोजिनुपर्ने र भावनात्मक बहकाउमा नलाग्न  सबैलाई आग्रह गरेको छ। साथै, राष्ट्रपति रामचन्द्र पौडेलको भूमिका संविधान र सहमतिअनुसार अघि बढ्नुपर्ने बताएको छ।

विज्ञप्तिमा भनिएको छ, “यो कठिन घडीमा धैर्यता, समयअनुकूलता र विवेकपूर्ण निर्णय आवश्यक छ। हामी लोकतान्त्रिक पक्षधर भएर सम्पूर्णमा आह्वान गर्दछौं।”

गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष मिनप्रसाद गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीको संगठनात्मक बैठक मार्फत  अगाडि बढ्ने उल्लेख गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...