पाेखरामा प्लाष्टिकका फूलगुच्छा र माला बिक्री बितरण नगर्न अनुराेध

पाेखरा, कार्तिक २ गते ।पोखरा महानगरपालिकाले बजारमा प्लाष्टिकका फूलगुच्छा बिक्री बितरण विगत चार वर्षदेखि राेक लगाएकाे छ । उक्त निर्णय कार्यान्वयन भए नभएको हेर्न बजार अनुगमन गरेको छ ।

आइतबार उपभाेक्ता हित संरक्षण तथा बजार अनुगमन समितिका संयाेजक महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा सहरका विभिन्न भागका १० वटा पसलमा अनुगमन भएको हो । अनुगमनका क्रममा केहि पसलमा व्यवसायीले प्लाष्टिकका माला राखेकाे फेला पारेकाे हाे । व्यवसायीले प्लाष्टिकको पुरानो खरिद रहेको र त्यो फूलमाला नबेच्ने भन्दै थन्क्याएका थिए ।

 

उपप्रमुख गुरुङले पहिलेभन्दा यसपालीको दशैंमा सुधार भएको पाइएको बताइन् । उनले महानगरले अनुगमन प्रभावकारी रुपमा गरेको र अटेर गर्नेलाई कानुनी दायरमा ल्याउने बताइन् । आइतबारको अनुगमनमा सचेत गराएर छोडेको उनले जानकारी दिइन् । स्थानीय उत्पादनको उपयोगमा जोड दिँदै महानगरले नगरवसीकै हित, वातावरणीय स्वच्छता र वास्तविक चाडमा विकृति नहोस भनेर अनुगमन गरिएको उनको भनाई थियो ।

 

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार अनुगमनका क्रममा झण्डै एक सय वटा प्लाष्टिकका माला जफत गरिएको छ । अघिल्ला वर्षहरुमा भन्दा यसपाली बजारमा कममात्रामा पलाष्टिकका फूल र माला देखिएको अनि त्यसलाई विक्री वितरण गर्नमा रोक लगाइएको उनले बताए ।

 

पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलमाला बिक्री-वितरण नगर्न, नगराउन र वातावरणमा नकारात्मक असर पार्ने निषेधित प्लाष्टिकजन्य फूलको प्रयोग नगरी स्थानीय फुल प्रयोग गर्न आग्रह गरेको छ ।

 

अनुगमनमा पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका शिवजी बराल, महानगरका अधिकृत राजु सुवेदीसहित सञ्चारकर्मीको समेत सहभागीता थियो । सृजनाचोक, महेन्द्रपुल, नालाकोमुख, मोहरिया टोल र विन्ध्यवासिनी लागयतका स्थानमा रहेका पसलहरुमा अनुगमन भएको हो ।

 

महानगरले वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लाष्टिकजन्य फूल-गुच्छाको बिक्री, वितरण वा भण्डारण निषेध गरेको र सोही ऐनको अधिकार प्रयोग गरी यस्ता प्लाष्टिकजन्य फूल-गुच्छाको बिक्रीवितरणमा रोक लगाउने भनी नेपाल राजपत्रमा प्रकाशित सूचना जारी गरिएकोले सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय उत्पादन प्रवर्द्धन नीति अनुसार प्लाष्टिकजन्य फूलमाला बिक्री-वितरणमा रोक लगाएको छ ।

 

प्रतिबन्धले तिहार, छठजस्ता पर्वहरूमा प्रयोग गरिने प्लास्टिकका माला र फूलगुच्छाको आयात र बिक्रीमा कमी आउने महानगरको अपेक्षा छ

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...