प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट २० जना जुवाडेलाई पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको अवस्थामा उनीहरुबाट नगद रु ६ लाख दुई हजार एकसय पाँच सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहनुभएका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“तिहारको समयमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको छ । प्रहरीले जुवातास खेल्ने र खेलाउनेहरुलाई निगरानी गरिरहेको छ ।”
प्रहरीका अनुसार पोखरा नयाँबजारबाट पाँच जना पक्राउ परेका छन् । उनीहरुको साथबाट दुई सय १२ पत्ती तास र नगद रु दुई लाख ५१ हजार ४५५ बरामद भएको छ ।
यसैगरी पोखरा महानगरपालिका–२६ विजयपुरको लप्सीबोट सामुदायिक जंगलबाट सात जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १४ थान कौडा र रु ७७ हजार २०५ नगद फेला परेको छ ।
प्रहरीले पोखरा– २ मोहोरियाटोलबाट आठ जना पक्राउ गरेको र उनीहरुको साथबाट छ बुक तास र नगद रु दुई लाख ७३ हजार ४४५ बरामद गरिएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।