कास्कीमा तोडफोड र लुटपाटमा संलग्न १८ जना पक्राउ

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कास्कीका विभिन्न प्रहरी कार्यालयमा भएको आगजनी, तोडफोड तथा लुटपाटमा संलग्न १८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

भ्रष्टाचार र नेपोबेबीबिरुद्द तथा सुशासनको माग गर्दै भएको सो आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयहरुमा गरिएको आगजनी, तोडफोड तथा लुटपाटमा संलग्न १० जना तथा प्रहरीको बर्दी दूरुपयोग तथा हुलहुज्जत गर्ने ८ जना गरेर कुल १८ जनालाई पक्राउ गरी कास्की प्रहरीले अनुसन्धान गरेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

 

भदौ २३ गते भएको प्रदर्शनमा १९ जना जेनजी आन्दोलनकारीको मृत्यू भएपछि त्यसको भोलिपल्ट देशभरका सरकारी तथा नीजि भवनहरुमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

 

सो क्रममा जिल्ला प्रहरी कार्यालय कास्की मातहतका कार्यालयहरुमध्ये वडा प्रहरी कार्यालय वैदाम, वडा प्रहरी कार्यालय बगर, वडा प्रहरी कार्यालय रामबजार, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, अन्नपूर्ण गाउँपालिकास्थित नयापुल प्रहरी चौकी तथा नदीपुर, प्रस्याङ, हरीचोक, लामाचौर, छोरेपाटनलगायतका ठाउँहरुमा रहेका प्रहरी विटहरुमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्की आन्दोलनकारीले कब्जा नै गरेर तत्कालीन कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षकको बर्दी लगाएर टिकटक बनाएपछि भाइरल नै बनेको थियो ।

 

कास्की प्रहरीले जिल्ला प्रहरी कार्यालयमा आगजनी तथा तोडफोडमा संलग्न रहेको भन्दै राजेश मक्रान्ती, नारायण साई, अरुण विक र दीपु साईलाई पक्राउ गरेको बताएको छ । २४ वर्षिय मक्रान्ती धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भई हाल पोखरा–४ मानव अधिकार चोक बस्दै आएका थिए भने ५४ वर्षिय साई पोखरा–४ अधिकारी मार्गका फ्रेस हाउस सञ्चालक हुन् । त्यस्तै, पोखरा–११ फुलवारी घर भएका २२ वर्षिय विक गाडी चालक हुन् भने पोखरा–१ मोहरिया टोल का ४३ वर्षिय दीपु साई हार्डवयर पसलका कामदार रहेको कास्की प्रहरीले जनाएको छ । दीपुमाथि हतियार जलाएकोसमेत आरोप लगाइएको छ ।

 

यसैगरी, कास्की प्रहरीले पोखरा–१ कसेरीका ४१ वर्षिय रुपेश मगरलाई वडा प्रहरी कार्यालय बगरमा तोडफोड तथा आगजनी गरेको भन्दै पक्राउ गरिएको छ । मगर पटके आरोपी हुन् । उनले २०६२ सालमा पनि सवारी साधन तोडफोड गरी क्षति पु¥याएको भन्दै प्रहरीले उनीमाथि आपराधिक मुद्दा दायर गरेको छ ।

 

कास्की प्रहरीले अन्नपूर्ण गाउँपालिका–५ नयापुलस्थित प्रहरी चौकीमा आगजनी, तोडफोड तथा लुटपाट गरेको भन्दै स्थानिय लङबहादुर नेपाली, अरविन विक, ग्रिस क्षेत्री, थमबहादुर सार्की र पूर्णबहादुर नेपालीलाई पनि पक्राउ गरेको छ । ४७ वर्षिय लङबहादुर र ६२ वर्षिय सार्की व्यवसायी, १९ वर्षिय विक र क्षेत्री विद्यार्थी तथा ४२ वर्षिय नेपाली किसान रहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले जानकारी दिए । नेपालीमाथि आगजनी, तोडफोड तथा लुटपाटसँगै हतियारसमेत लुटपाट गरेको आरोपमा मुद्दा चलाइएको छ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...