लमजुङ, कात्तिक १४। नेपाल पत्रकार महासंघ लमजुङ शाखाले प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमाथि भएको आक्रमणप्रति घोर भर्त्सना गरेको छ।

महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा लमजुङ जिल्ला बेसीशहर नगरपालिका–८ स्थित पाण्डेको निजी घरमा कार्तिक १३ गते राति करिब १२ बजे अपरिचित व्यक्तिहरूले ढुङ्गा प्रहार गरी क्षति पुर्याएको घटनाप्रति आपत्ति जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपाली पत्रकारहरूको हकहित र अधिकारका लागि संस्थागत नेतृत्व सम्हाल्नुभएका पत्रकार पाण्डेमाथि यो आक्रमण अत्यन्त निन्दनीय छ, उहाँको आमा र हजुरआमा बस्दै आउनुभएको घरमा ढुंगा प्रहार हुनु योजनाबद्ध र आपराधिक मनसायसहित गरिएको कार्य हो।’
महासंघले घटनाको गहिरो अनुसन्धान गरी दोषीहरूलाई सार्वजनिक गर्न तथा कानूनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरेको छ। साथै, रातको समयमा लुकिछिपी गरिएको आक्रमण पत्रकारलाई डर र त्रासमा पार्ने प्रयास भए पनि यसले पत्रकारिताको निष्पक्षता, सत्यता र स्वतन्त्रता कमजोर नपार्ने महासंघले जनाएकाे छ । विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणपछि पत्रकार पाण्डेको परिवार विचलित बनेको अवस्थामा उहाँहरूको शान्ति–सुरक्षाको व्यवस्था गरी भयमुक्त वातावरण निर्माण गर्न प्रशासनले तत्काल ध्यान दिनुपर्छ।’
महासंघका सचिव कृष्णबहादुर आलेद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस प्रकारका गतिविधिले प्रेस स्वतन्त्रतामाथि चोट पुर्याउने र सम्पूर्ण पत्रकार समुदायलाई असुरक्षाको अवस्थाबाट गुजार्ने चेतावनी दिइएको छ।प्रेस चाैतारी नेपालले पनि साे घटनाकाे निन्दा गर्दै पीडक माथि कारबाहीको माग गरेको छ ।
 
			