काठमाडौं । नेकपा (एमाले) काठमाडौं उपत्यका विशेष प्रदेशले संविधानको रक्षार्थ जनपरिचालनमा एकिकृत भएर लाग्ने निर्णय गरेको छ ।

उपत्यका भौगोलिक र गैरभौगोलिक कमिटी तथ जनसंगठनको संयुक्त बैठकले आज पार्टी केन्द्रको निर्णय अनुसार संविधान विपरित जननिर्वाचित प्रतिनिधि सभा पुर्नगठन गरी संविधानको रक्षा गर्न व्यापक जनपरिचालनका लागि एकताबद्ध भएर लाग्ने निर्णय गरेको हो ।
पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन संयोजक भानुभक्त ढकालको प्रमुख आतित्थ्यतामा बसेको विशेष प्रदेशको बैठकले पार्टीको निर्णय अनुसार वडा देखि पालिका हुँदै जिल्ला र केन्द्रीय स्तरका जनप्रदर्शनका कार्यक्रममा उपत्यकाबाट व्यापक सहभागिता जुटाउन लागिपर्ने निर्णय गरेको उपत्यका विशेष प्रदेशका इन्र्चाज तथा पार्टी पोलिटव्युरो सदस्य सुजिता साक्यले जानकारी दिनुभयो ।
‘एमाले बाग्मती प्रदेशका इन्चार्ज तथा पार्टी स्थायी कमिटि सदस्य डा. राजन भट्टराई समेतको उपस्थितमा बसेको बैठकले उपत्यका भित्रका भूगोल, गैर भूगोलमा रहेका सबै पार्टी कमिटी, जनवर्गिय संगठनहरुका तर्फबाट आयोजना हुने कार्यक्रमलाई भव्य रुपमा सफल पार्न भूमिका खेल्ने निर्णय भएको छ’, इन्चार्ज साक्यले थप्नुभयो, ‘गएको भदौं २३ गते जेन जी पुस्ताले उठाएका जायज मागमा घुसपैठ गरेर राष्ट्रिय धरोहर सहित पार्टी कार्यालय र नेताहरुका व्यक्तिगत सम्पत्तिलाई खरानी बनाउने गरी भएको आगजनी र लुटपाटमा संलग्नलाई नियन्त्रणमा लिएर कानूनी कारबाही गर्न सुशिला कार्की नेतृत्वका अन्तरिम सरकारलाई दावाव दिने निर्णय बैठकले गरेको छ ।’
लोकतन्त्र ल्याउन स्थापना भएका दल र जीवनभर नागरिकका अधिकारका पक्षमा लागेका नेताहरुप्रति वर्तमान सरकार पूर्वाग्रही बन्दै गएको प्रति आपत्ति प्रकट गरेको बैठकले त्यसका बिरुद्धमा लाग्न काठमडौं उपत्पकावासीलाई आग्रह समेत गरेको छ ।
लामो राजनीतिक र समाजिक संघर्षको पलब्धीका रुपमा जननिर्वाचित संस्थाले बनाएको संविधान मास्ने अनेक खाले प्रपञ्च भैरहेको प्रति सजग गराएको बैठकले संविधानको रक्षार्थ एमालेले यहि कार्तिक २२ गते आयोजना गर्ने वडा स्तरिय भेला, २५ गते गर्ने पालिका स्तरिय जनसभा, २९ गते गर्ने जिल्ला स्तरिय जनसभा र मंसिर ६ गते गर्ने काठमाडौं उपत्यका स्तरिय जनसभालाई सफल पार्न उपत्यकाका सबै पार्टी कमिटि र उपत्यकावासीलाई आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकमा एमाले नेता आनन्द पोखरेल, विना श्रेष्ठ, बालिका गिरी, टुकभद्र हमाल, मेनका पोखरेल लगायतका पार्टी र जनवर्गिय संगठनका नेताहरुको उपस्थिती रहेको एमाले उपत्यका विशेष प्रदेशले जनाएको छ ।